काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डोल्पा कारागारबाट सुरुङ खनेर भागे आठ कैदी, भेरी नदी पार गरेर फरार

588
shares

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट उनीहरू गए राति सुरुङ खनेर फरार भएका हुन् ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका छन् । फरार हुनेमा पुर्पक्षका लागि थुनामा रहेका दुई जना र कैद सजाय भोगिरहेका छ जना रहेका छन् ।

भेरी नदीको किनारमा रहेको कारागारबाट कैदीहरू सुरुङ खनेर भागेपछि सुरक्षा निकायले उनीहरूको खोजी कार्य सुरु गरेको छ । कारागार रहेको क्षेत्र र भेरी नदीको बिचमा पुलसमेत रहेकाले फरार कैदीहरू कुन बाटो हुँदै बाहिरिए भन्ने विषयमा चासो बढेको छ ।

एकै पटक आठ जना कैदी फरार भएपछि जिल्लाको सुरक्षा निकायलाई उनीहरूको खोजी तथा नियन्त्रणमा चुनौती थपिएको छ । फरार कैदीहरू कहाँ पुगेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन ।

प्रमुख जिल्ला अधिकारी हमालले आठ जना कैदी फरार भएको पुष्टि गर्दै उनीहरूको खोजी भइरहेको जानकारी दिइन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

कारागारभित्र सुरुङ खन्ने क्रममा प्रयोग गरिएका सामग्री कसरी व्यवस्थापन गरियो, सुरुङ खन्ने गतिविधिबारे सुरक्षाकर्मीले किन थाहा पाएनन् र कैदीहरू कसरी कारागारबाट बाहिरिन सफल भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

कारागारमा १७ जना कैदी बन्दी रहेको अवस्थामा आठ जना एकै पटक फरार हुनुले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीले फरार कैदीहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।