global ime bank Long Banner Ad

गृहपृष्ठ फैसला नआउँदै पूर्वडीआइजी रञ्जन कोइराला फरार

फैसला नआउँदै पूर्वडीआइजी रञ्जन कोइराला फरार

फैसला नआउँदै पूर्वडीआइजी रञ्जन कोइराला फरार

सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्टाउँदै जन्मकैदको सजाय कायम गरेपछि सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला फरार भएका छन् । कारागारबाट २ वर्षअघि छुटेका कोइरालालाई फरार सूचीमा राखेर पक्राउ गर्न नेपाल प्रहरीले देशभरका संयन्त्रलाई सक्रिय पारेको छ ।

अघिल्लो फैसला उल्टिने गरी बिहीबार भएको फैसलाको केही अघिसम्म कोइराला सर्वोच्च अदालतमै थिए । सर्वोच्चबाट बाहिरिएपछि मोबाइल फोन स्वीच अफ गरेर सम्पर्कविहीन बनेका हुन् ।

पत्नी हत्यामा जन्मकैद पाएका कोइरालाको सजाय घटाउने आफ्नै पूर्वफैसलालाई सर्वोच्च अदालतले बदर गरेको हाे । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको इजलासले बिहीबार कोइरालालाई २० वर्षको जन्मकैद नै हुने फैसला गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले दुई वर्षअघि कोइरालालाई जन्मकैद घटाएर साढे ८ वर्ष बनाइदिने फैसला गरेको थियो । पत्नी गीता ढकालको हत्या गरी टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । तर, जबरा र केसीको इजलासले २०७७ असार १५ मा पत्नी हत्याको जघन्य अपराध गरे पनि ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै सजाय घटाउने फैसला गरेको थियो ।

त्यतिन्जेल आठ वर्ष ६ महिना थुनामा बसेका कोइरालालाई ‘त्यति नै जेल बस्दा पनि सजायको मकसद पूरा हुन्छ’ भन्ने इजलासको ठहर थियो । उक्त फैसलापछि २०७७ साउन ८ मा कोइराला डिल्लीबजार कारागारबाट छुटेका थिए । जन्मकैद ठहर भएका कतिपय व्यक्तिको सजाय घटाइदिन सक्ने गरी मुलुकी ऐनले न्यायाधीशलाई अधिकार दिएको थियो । कोइरालाको सजाय घटाउन त्यही स्वविवेकीय अधिकार चरम दुरुपयोग गरेको भन्दै कोभिड महामारीबीच पनि सर्वसाधारणले सडक आन्दोलन गरेका थिए ।

प्रधानन्यायाधीशसमेतको संयुक्त इजलासको फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो । सार्वजनिक आलोचना र महान्यायाधिवक्ता कार्यालयको निवेदनपछि २०७७ साउन ११ मा सर्वोच्चले फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो । पुनरावलोकन गर्ने आदेशपछि जबराविरुद्धको आन्दोलन रोकिएको थियो, त्यसपछि भने उनले लामो समय यो मुद्दालाई पेसीमै चढाएका थिएनन् ।

प्रधानन्यायाधीश जबराले आफूले गरेको फैसलाविरुद्धको पुनरावलोकनको निवेदनलाई पेसीमै नचढाउने कार्य न्यायिक मूल्य मान्यताविपरीत भन्दै सार्वजनिक आलोचना भएको थियो । गत फागुन १ मा प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराउँदा यो विषयलाई पनि एउटा कारणका रूपमा उल्लेख गरिएको छ ।

बिहीबार गोला प्रक्रियाअनुसार तोकिएको तीन सदस्यीय पूर्ण इजलासले निलम्बित प्रधानन्यायाधीश जबरासहितको इजलासले गरेको फैसला उल्ट्याइदिएको हो । जसअनुसार अब कोइरालाले थप साढे ११ वर्ष जेल बस्नुपर्नेछ ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु