काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

1.01K
shares

नेपालगञ्ज ।कोहलपुर नगरपालिका–११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल बस्नेत यतिबेला पान खेतीमा व्यस्त छन् । उनले पाँच वर्षअघि एउटा मीठा पानको बिरुवा रोपेर खेती सुरु गरेका थिए । अहिले उनको घरमा पानको लहरा करिब तीन धुर क्षेत्रफलमा फैलिएको छ । सामान्य हेरचाह, कम्पोस्ट मल र पानीको प्रयोगबाट पात उत्पादन भइरहेको उनले बताए।

पानको बिरुवालाई चिस्यानयुक्त र ओसिलो वातावरण आवश्यकपर्ने भएकाले उपयुक्त स्थान र खेती व्यवस्थापन गर्नसके बाँकेको हावापानी तथा भौगोलिक अवस्थाले उत्पादनमा बढावा दिनसक्ने उनको अनुभव छ ।

“एउटा बिरुवाबाट सुरु गरेको खेती पाँच वर्षमा तीन धुर क्षेत्रमा फैलिएको छ । रासायनिक औषधिको प्रयोग नगरी कम्पोस्ट मल र पानीबाटै पात उत्पादन भइरहेको छ । यसले बाँकेमा पनि पान खेतीको सम्भावना देखाएको छ”, बस्नेतले भने ।

उनका अनुसार नेपालमा धार्मिक, सांस्कृतिक कार्यमा पानको पातको नियमित माग रहे पनि स्वदेशी उत्पादन पर्याप्त नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था छ । स्थानीयस्तरमै व्यावसायिक उत्पादन गर्नसके किसानका लागि नयाँ आम्दानीको स्रोत सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा योगदान पुग्नसक्छ ।

बस्नेतसँग हाल करिब १० कठ्ठा क्षेत्रफलमा खेती गर्न पुग्ने पानका बिरुवा छन् । उनले पानखेती गर्न इच्छुक व्यक्तिलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएको छन् । उनले बाँकेमा यसको व्यावसायिक सम्भाव्यताको अध्ययन गरी उत्पादन विस्तारको योजना बनाउनेतर्फ लागिपरेको उनको भनाइ छ ।

पानखेतीको सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न सरकारी निकायको अनुसन्धान र प्राविधिक सहयोग आवश्यक रहेको उनले बताए ।

उनका अनुसार व्यावसायिक उत्पादन सुरु गर्नुअघि माटोको अवस्था, तापक्रम, चिस्यान, उपयुक्त जात, रोगकीरा व्यवस्थापन तथा उत्पादन क्षमताबारे अध्ययन गर्न आवश्यक छ । त्यसैगरी बजारको माग, उत्पादन लागत, बिक्री मूल्य, पातको गुणस्तर, भण्डारण र ढुवानी व्यवस्थाबारे पनि स्पष्ट योजना बनाउनुपर्छ ।

घरायसी तहमा गरिएको नमुनाखेती सफल हुँदैमा ठूलो क्षेत्रफलमा उत्पादन पनि सफल हुन्छ भन्ने निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ । त्यसैले कृषि अनुसन्धान गर्ने निकायले परीक्षण गरी खेतीको उपयुक्तता र उत्पादन क्षमताबारे निष्कर्ष निकाल्नुपर्ने उहाँको धारणा छ ।

“सम्बन्धित निकायले अनुसन्धान गरेर पान खेतीको सम्भावना प्रमाणित गरिदिनुपर्छ । सरकारीस्तरबाट पहल र प्राविधिक सहयोग भए व्यावसायिक उत्पादन गर्न सकिन्छ । यसले किसानको आम्दानी बढाउनुका साथै विदेशबाट आउने पानको पातको आयात घटाउन पनि सहयोग गर्छ”, उनले भने । पानको पात नेपाली समाजमा विवाह, पूजाआजा, व्रतबन्धलगायतका शुभकार्यमा प्रयोग हुँदै आएको छ ।

बस्नेत पान खेतीको सम्भावना खोज्नेमै सीमित छन् । उनले कोदो, जङ्गली धानलगायतका बाली तथा लोपोन्मुख अवस्थामा रहेका मौरीका प्रजातिको संरक्षणमा काम गर्दै आएको छन् । पुच्का, कचौरी, कालो भमरालगायतका प्रजाति तथा विभिन्न पक्षीको संरक्षणका लागि जिन बैंक निर्माण र संरक्षणमा उनि सङ्लग्नछन् ।

परम्परागत कृषि ज्ञान, जैविक विविधताको संरक्षण र आधुनिक कृषि प्रणालीलाई जोडेर कृषि क्षेत्रलाई अघि बढाउनुपर्ने उनको मान्यता छ । पान खेतीको नमुना अभ्यासलाई वैज्ञानिक अनुसन्धान, सरकारी सहयोग र बजार व्यवस्थापनसँग जोड्नसके बाँकेका किसानका लागि नयाँ कृषि व्यवसायको बाटो खुल्नसक्ने उनको अपेक्षा छ ।