गृहपृष्ठ तिलोत्तमाको मेयरमा कांग्रेसका खाण र उपमेयरमा एमालेकी चौधरी विजयी
तिलोत्तमाको मेयरमा कांग्रेसका खाण र उपमेयरमा एमालेकी चौधरी विजयी
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार खाणले २४ हजार ३९६ मत ल्याएर नगर प्रमुखमा विजयी भएका हुन् । खाँणका निकटतम प्रतिद्वन्द्वी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका छन् । खाँण नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापतिसमेत हुन् । उनी गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।
गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेस रुपन्देहीको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, उपमेयरमा भने फराकिलो मतान्तरसहित नेकपा एमालेकी जागेश्वरीदेवी चाधरी विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरी उपप्रमुखमा निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर दुवै एमाले विजयी भएको थियो । कुल १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा कांग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जित हासिल गरेको छ ।
प्रकाशित समय : १३:२४ बजे



















