काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पुर्खाको चिनारी जोगाउँदै आफ्नै माटोमा सम्भावना खोज्दै

945
shares

दमौली । रोजगारी र अवसरको खोजीमा युवापुस्ता विदेशिनेक्रम बढ्दो छ । गाउँका खेतबारी बाँझिँदै छन्, रैथाने बीउबिजन र स्थानीय जातका पशुपन्छी हराउँदै गएका छन् । पुर्खाले पुस्तौँदेखि जोगाउँदै आएको मौलिक खानपान र कृषि संस्कृति पनि विस्तारै ओझेलमा पर्दै गएको छ । यस्तो अवस्थामा आफ्नै माटोमा सम्भावना खोज्दै कृषि उद्यममा जुट्नुभएको छ तनहुँका सामाजिक अभियन्ता सिद्धान्त गर्जा मगर ।

बन्दीपुर गाउँपालिका–६, खहरेमा करिब एक करोड लगानी गरेर उनले ‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ सञ्चालनमा ल्याएको छन् । यो फार्म केबल कृषि तथा पशुपन्छीपालन गर्ने व्यवसाय मात्र होइन, पुर्खाको ज्ञान, सीप, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउने उनको प्रयास पनि हो ।

सेतीगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तथा नेपाल मगर सङ्घ केन्द्रीय समितिका उपमहासचिव रहेका मगरले ‘आफ्नो माटो, आफ्नै उत्पादन, आफ्नै पहिचान’ भन्ने भावनालाई आत्मसात् गर्दै फार्म सञ्चालन गरेका छन् । स्थानीय स्रोतसाधनको उपयोग, रैथाने कृषि प्रणालीको संरक्षण र गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले आफ्नै गाउँमा लगानी गरेको उनले बताए ।

कृषि उद्यमसँग जोडिएको पुर्खाको पहिचान

गर्जा मगरका लागि रैथाने कृषि उत्पादन केबल आम्दानीको माध्यम होइन । यो पुर्खाले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएको ज्ञान, सीप र जीवनशैलीसँग जोडिएको विषय हो । आधुनिक जीवनशैलीको प्रभावसँगै परम्परागत खानपान र खेती प्रणाली हराउँदै जान थालेपछि तिनको संरक्षण आवश्यक ठानेर आफू कृषि उद्यममा लागेको उहाँले बताए ।

“रैथाने कृषि उत्पादनको माध्यम मात्र होइन, यो हाम्रा पुर्खाले पुस्तौँदेखि हस्तान्तरण गर्दै आएको ज्ञान, सीप, संस्कृति र पहिचान पनि हो”, गर्जा मगर भन्े, “आफ्नै माटोमा सम्भावना खोजेर स्थानीय स्रोतसाधनको सदुपयोग गर्नसके गाउँमै रोजगारी सिर्जना गर्न र कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्न सकिन्छ ।”

उनको यही सोचले ‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ को अवधारणालाई आकार दिइएको हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै परम्परागत कृषि प्रणाली र मौलिक खाद्य संस्कृतिलाई व्यवहारमै संरक्षण गर्ने प्रयासमा जुटेको उनले बताए ।

एउटै फार्ममा पशुपन्छीपालनदेखि फलफूल खेतीसम्म

फार्ममा स्थानीय जातका कुखुरा, कालो सुँगुर, राँगा, बाख्रा तथा हाँसपालन गरिएको छ । पशुपन्छीसँगै मौरीपालनलाई फार्मको अभिन्न हिस्सा बनाइएको छ ।

त्यसैगरी, फार्म परिसरमा सुन्तला, जुनार, लिची, कागती र अम्बालगायतका फलफूलखेती गरिएको छ । कृषि उत्पादन र पशुपन्छीपालनलाई एकैठाउँमा समेटेर स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

गाउँमै सम्भावना, गाउँमै रोजगारीको खोजी

रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला गर्जा मगरले आफ्नै गाउँमा लगानी गरेर फरक सन्देश दिन खोजेका छन् । खेतबारी बाँझो राख्नुभन्दा स्थानीय उत्पादन, पशुपन्छीपालन र फलफूल खेतीमार्फत गाउँमै आर्थिक गतिविधि बढाउन सकिने उनको विश्वास छ ।

रैथाने बीउबिजन, स्थानीय जातका पशुपन्छी र परम्परागत खानपानलाई नयाँ पुस्तासँग जोड्नसके कृषि उत्पादनसँगै सांस्कृतिक पहिचानको संरक्षणमा पनि योगदान पुग्ने उनले बताए । कृषि उद्यमलाई सम्मानित र सम्भावनायुक्त पेसाका रूपमा स्थापित गर्नसके गाउँमै बसेर पनि भविष्य निर्माण गर्न सकिने उनको भनाइ छ ।

‘बाउबाजेको रैथाने एग्रो फार्म हाउस’ ले बन्दीपुरको कृषि सम्भावनालाई स्थानीय पहिचानसँग जोड्ने प्रयास गरेको छ । यसको दीर्घकालीन सफलता उत्पादन, बजार व्यवस्थापन, गुणस्तर र दिगो सञ्चालनमा निर्भर रहने उनको भनाइ छ ।