गृहपृष्ठ जितेको मतभन्दा बदर मत धेरै
जितेको मतभन्दा बदर मत धेरै
विराटनगर महानगरपालिका उपप्रमुखमा चुनाव जितेकी शिल्पा निरौला कार्कीले २५ हजार ६ सय ८० मत ल्याइन् । तर त्यही पदमा उनले ल्याएकोभन्दा बढी मत बदर भएको छ । उक्त पदमा बदर मतको संख्या ३४ हजार १ सय ७६ छ ।
महानगरपालिकाको नेतृत्व छान्न भएको चुनावमा प्रमुखमा भने २४ र उपप्रमुखमा ३८ प्रतिशत मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विराटनगरमा ८९ हजार ६ सय ७८ मत खसेको थियो । महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला ३० हजार १ सय ७० मत ल्याएर विजयी भएका छन् । उक्त पदमा २१ हजार ३ सय ५८ मत बदर भएको छ । सबैभन्दा बढी वडा ६ मा प्रमुखमा १ हजार ९ सय ६५ र उपप्रमुखमा ३ हजार ८ सय ७ मत बदर भएको छ । २०७४ को निर्वाचनमा २४ दशमलव ६ प्रतिशत मत बदर भएको थियो ।
विराटनगरमा यस पटक सत्ता गठबन्धनबाट प्रमुखमा कांग्रेसका कोइराला र उपप्रमुखमा जसपाका अमरेन्द्र यादव उम्मेदवार थिए । यादवले १४ हजार २ सय १९ मत पाए । माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार थिएनन् ।
प्रकाशित समय : १४:४८ बजे


















