गृहपृष्ठ मोदी भ्रमणमा द्विपक्षीय भेटवार्ता हुने, यस्तो छ भ्रमण तालिका
मोदी भ्रमणमा द्विपक्षीय भेटवार्ता हुने, यस्तो छ भ्रमण तालिका
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र पारिएको छ । २५६६औं बुद्धजयन्तीको अवसरमा जेठ २ गते उनले लुम्बिनी भ्रमण गर्नेछन् । यो मोदीको चौथो नेपाल भ्रमण हो । भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी नदिए पनि लुम्बिनीमा तयारी तीव्र पारिएको छ ।
मोदी नजिकै रहेको उत्तर प्रदेशको कुशीनगरबाट हेलिकप्टर चढेर लुम्बिनी आइपुग्ने बताइएको छ । त्यसका लागि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइँदैछ । मायादेवी मन्दिरको सरसफाइ गरी रंगरोगनसहित चिटिक्क पारिएको छ । मायादेवी मन्दिरमा पूजाअर्चनाबाट मोदीको नेपाल भ्रमणको कार्यक्रम सुरु हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको हालै भारत भ्रमणको क्रममा समकक्षी मोदीले नेपाल भारत सम्बन्ध उदाहरणीय रहेको बताएका थिए । त्यसपछि अहिले मोदीको लुम्बिनी भ्रमणले पनि दुई देशको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।
मोदीका सुरक्षाकर्मी लुम्बिनीमा
बुधबार मात्रै दिल्लीबाट भारतीय वायुसेना कोइलुसियन आईसी-७६ एमडी विमानमा मोदीका सुरक्षार्की लुम्बिनी आएका छन् । उनको सुरक्षार्थ स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) को ४५ जनाको टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर लुम्बिनी पुगेका छन् ।
एसपीजीका वरिष्ठ सुरक्षा अधिकारी रवि कुमारको नेतृत्वमा ४५ जनाको टोली साना हतियार, ‘सुरक्षा सामग्री’ र लगेजसहित आएका हुन् । भारतीय प्रधानमन्त्री मोदी र सुरक्षाकर्मीले प्रयोग गर्ने चार वटा विशेष गाडीसमेत उक्त विमानमा ल्याइएका छन् ।
सुरक्षा संयन्त्र सक्रिय
मोदीको भ्रमण तय भएपछि लुम्बिनीमा भारतीय सुरक्षा अधिकारीहरूको आवतजावत बाक्लिएको छ । मुलुकका चारवटै सुरक्षा निकायहरू नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरी लुम्बिनीको सुरक्षामा निकै सक्रिय छन् ।
यस्तो छ भ्रमण तालिका
सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री मोदी भारतको कुशीनगर जिल्लामा निर्माण भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेर हेलिकप्टरमार्फत दिउँसो १२ बजे लुम्बिनी आउनेछन् । म्युजियम नजिकै रहेको हेलिप्याडमा उनी सवार हेलिकप्टर अवतरण हुनेछ । बुद्धजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवासमेत लुम्बिनी आउनेछन् । जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रम छ । मोदीले लुम्बिनीमा मायादेवी मन्दिरमा पूजाआजा र ध्यान गर्नेछन् ।
मोदी-देउवा बैठक
भारतीय प्रधानमन्त्री मोदी होटल पवन प्यालेसको ‘स्विट रुम’ मा विश्रामका लागि जाने तालिका छ । उक्त होटल पूरै खाली गराइएको छ । भारतीय सुरक्षा टोलीले उक्त होटललाई केही दिन अघिदेखिनै निगरानीमा राखेका छन् । देउवा र मोदीबीच त्यही होटलमा भेटवार्ता हुनेछ । बैठकमा कुनै विषयको सम्झौतामा हस्ताक्षर हुने बताइएपनि बैठकका एजेन्डाहरू सार्वजनिक भने गरिएको छैन ।
प्रकाशित समय : १४:५८ बजे



















