गृहपृष्ठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमा अर्थात जेठ २ गते मोदीले नेपाल भ्रमणमा आउने योजना बनाएका हुन् ।
सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । हिन्दुका अनुसार एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय कुरा नहुने उल्लेख छ ।
मोदीको भ्रमणका लागि दुबै देशका अधिकारीहरूले व्यवस्था मिलाइरहेका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन् ।
मोदी दिल्लीबाट हालै सञ्चालनमा आएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउनेछन् ।
प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए । २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
प्रकाशित समय : १३:१२ बजे



















