गृहपृष्ठ खेलाडीलाई आर्थिक सहयोग
खेलाडीलाई आर्थिक सहयोग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइरहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ प्रदान गरियो । भलिबलकी रिया कुँवरले ६३ हजार ९ सय २९, आइटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९ सय १४, करातेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीले ८० हजार प्राप्त गरे । केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सिमा र कोपिलालाई घोडामा चोट तथा दीपकलाई काँघको समस्या छ ।
कोषका अध्यषसमेत रहेका राखेपका सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । कोषका सदस्य-सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको हो ।
सदस्य-सचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै कोषको आयतन बढाउनु पर्नेमा जोड दिए । ‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाँचो छ,’ उनले भने, ‘कोषको आयतन बढाउन आवश्यक छ । यो कार्यमा म लागिरहेको छु । तपाईहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्छु ।’
प्रकाशित समय : २२:४० बजे


















