गृहपृष्ठ ८ महिनामा २ लाख बढी मोटरसाइकल आयात

८ महिनामा २ लाख बढी मोटरसाइकल आयात

८ महिनामा २ लाख बढी मोटरसाइकल आयात

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस नेपाल भित्रिएको दुई वर्ष पूरा भइ सकेको छ । सुरुवाती चरणमा निकै आतंकित बनाएको कोरोना हालसम्म पूर्ण रुपमा नियन्त्रण हुन भने सकेको छैन । तर, कोरोना नियन्त्रण हुन नसके पनि मानिसमा डर, त्रास भने निकै कम हुन थालेको छ ।

कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा तीव्र रुपमा सर्ने भएकाले मानिसहरूमा भिडमा जान नहुने अवस्था सिर्जना भयो । साथै, यातायात तथा सवारी साधनमा पनि कोरोनाबाट बच्नका लागि सुरक्षाका मापदण्ड तोकेको थियो । उच्च भिडभाड तथा भेटघाटले कोरोना बढाउने भन्दै सरकारले भिड नबढाउन र नियन्त्रणका लागि विशेष ध्यान दिन जोड दिएको थियो ।

सरकारले निषेधाज्ञा तथा लकडाउन खुकुलो गरेसँगै चार र दुई पांग्रे सवारी साधनको उच्च व्यापार भएको छ । लामो समयको लकडाउन तथा निषेधाज्ञाले खुलेको बजारमा कोरोना महामरीका कारण सार्वजनिक यातायातको सट्टा निजी सवारी साधनको प्रयोगकर्ता बढेका थिए । सार्वजनिक यातायातमा भएको भिडभाडले कोरोना संक्रमण हुने देखिएपछि अधिकांश मानिसहरूले निजी सवारी साधनमा जोड दिएको देखिन्छ । सो अवधिमा सामान्यभन्दा सामान्य परिवार तथा मानिसले आफ्नो क्षमताअनुसार निजी सवारी साधनमा जोड दिएका थिए । जसले गर्दा बजारमा चारपांग्रे तथा दुईपांग्रे सवारी साधनको उच्च रुपमा बिक्री वितरण भएको भन्सार विभागको तथ्यांकले जनाउँछ ।

कोरोना महामारीका कारण करिब ४ महिना बन्द अवस्थामा रहेको व्यापार खुकुलो हुनेवित्तिकै उच्च रुपमा चम्किएको थियो । उक्त अवधिमा सामान्य अवस्थाको तुलनामा उच्च रुपमा कारोबार भएको भन्सार विभागको आयातको तथ्यांकले देखाउँछ । सो समयमा सरकारले लकडाउन तथा निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा सामान्य अवस्थाको तुलनामा ४० प्रतिशतसम्म व्यापार बढेको विभागले जनाएको छ ।

नेपालमा अधिकांश सवारी साधन भारतलगायत अन्य तेस्रो मुलुकबाट आयात गरेर बिक्री वितरण हुँदै आएको छ । उक्त तथ्यांकअनुसार सामान्य अवस्थाको तुलनामा कोरोनाको अवधिमा आयातसँगै व्यापार उच्च भएको तथ्यांकमा उल्लेख गरिएको छ ।कोरोनाको समयमा अति आवश्यक वस्तुको रुपमा सवारी साधन भएकाले उच्च रुपमा व्यापार भएको अटोमोबाइल व्यवसायीहरूको भनाइ छ । कोरोनाअघि र कोरोनापछिको आयात भएको तुलना गर्दा कोरोनाको समयमा बढी सवारी साधन आयात भएको देखिन्छ । कोरोनाले आर्थिक मन्दी देखिए पनि सवारी साधनको बिक्री वितरण भने उच्च रुपमा भएको छ ।

कोरोनाअघि अर्थात आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्म र चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विद्युतीयसहित जीप, भ्यान र कारको आयातको संख्या हेर्ने हो भने करिब ४० प्रतिशतले वृद्धि भएको देखिन्छ । नेपालले आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्ममा ८ अर्ब ५ करोड ९५ लाख रुपैयाँको कार, जीप र भ्यान ९ हजार ४ सय ६९ आयात गरेको थियो । तर, कोरोनाको बेला आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्ममा १० अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबरको १० हजार ३ सय र आव २०७८/७९ को फागुन मसान्तसम्ममा १७ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको १३ हजार १८९ वटा आयात भइसकेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । जसमा सामान्य अवस्थाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३९.२८ प्रतिशतले जीप, कार र भ्यानको आयात बढेको छ ।

त्यस्तै नेपालले आव २०७५/७६ को फागुनसम्ममा १७ हजार ६८ वटा र आव २०७४/७५ को सोही अवधिमा ११ हजार ८५५ मात्रै जीप, कार र भ्यान आयात गरेको थियो । त्यस्तै, कोरोनाकै समयमा दुई पांग्रे सवारी साधनको आयात पनि उच्च रहेको छ । विगतको दिनमा ८ महिनाको अवधिमा २ लाखको हाराहारीमा मोटरसाइकल आयात हुन सकेको थिएन । तर, कोरोनाको ८ महिनाको अवधिमा नेपालले २ लाख वटाभन्दा बढी दुईपांग्रे सवारी साधन आयात गरेको तथ्यांकले देखाउँछ ।

विश्वव्यापी रुपमा कोरोना नफैलिएको अवधि आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्म नेपालले १७ अर्ब ४८ लाख रुपैयाँ बराबरको १ लाख ८८ हजार ५६० वटा दुईपांग्रे सवारी साधन आयात गरेको थियो । तर, कोरोनाको समयमा सो अवधिमा २ लाखबढी दुईपांग्रे सवारी साधन आयात भएको छ । जसमा आव २०७७/७८ को फागुन मसान्तसम्ममा नेपालले २१ अर्ब ४७ करोड ३९ लाख रुपैयाँको २ लाख ३० हजार १७९ वटा दुईपांग्रे सवारी साधन आयात गरेको थियो । साथै, आव २०७७/७८ मा नेपालले २० अर्ब ८५ करोड ३३ लाख रुपैयाँ बराबरको २ लाख ८ हजार ७९१ वटा दुईपांग्रे सवारी साधन आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी,नेपालले आव २०७५/७६ को फागुनसम्ममा १ लाख ८५ हजार २७ वटा र आव २०७४/७५ को सोही अवधिमा १ लाख ६३ हजार ६१९ दुई पांग्रे सवारी साधन आयात गरेको थियो ।

प्रकाशित समय : ००:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु