गृहपृष्ठ गुराँस र टीएमजेको सम्झनामा दुई शब्द
गुराँस र टीएमजेको सम्झनामा दुई शब्द
पृष्ठभूमिमा झरना छ । उच्च पहाडी भूभाग हुनुपर्छ त्यो स्थान । बेमौसम छ गुराँसको लागि । तैपनि निकट साथी बिके र छन्त्यालसहित काजी आफ्नो टोली लिएर त्यहाँसम्म उक्लिएको छ, गुराँस टिप्न । जो, मैयाँ सोल्टिनीलाई दिनुछ काजीले । गुराँस खोजीको दुख समेटेर बिकेले काजीको बखान गर्छ, ‘दाजु, मैले तपाईंलाई मानेँ । माया चाहिँ साँच्ची गर्नुहुँदो रहेछ भाउजुलाई । गुराँसको फूल टिप्न यत्रो टाढासम्म आइयो ।’
नेपाली चलचित्र कबड्डीमा सोल्टिनीलाई राजी बनाउनसक्ने एकमात्र ‘सुन्दर र विशेष फूल’को रुपमा गुराँसलाई यसरी प्रस्तुत गरिएको छ । मैयाँ सोल्टिनीको हातमा गुराँसको गुच्छा थमाउन सके उनको मन पगाल्न सकिनेमा आशावादी छ काजी । यही आशाले ‘काजी टोली’ कष्टसाध्य यात्रा गर्छ लेकतिर, गुराँसको खोजीमा । मायाप्रेमको सन्दर्भमा गुराँसलाई जोडेर मिहीन ढंगमा यसरी लेखिएका चलचित्रको पटकथा अरु पनि धेरै होलान् । हुन पनि गुराँसको फूल देख्नलाई मात्र सुन्दर होइन, नाम उच्चारण गर्दा नै पनि मिठो लाग्छ । युवायुवती मात्र होइन, बालकदेखि वृद्धवृद्धाको पनि मन पुलकित हुन्छ गुराँसको फूल देख्दा । गुराँसको विम्व कैयौं साहित्यिक सिर्जनामा प्रयोग गरिएका छन्, गीत लेखिएका छन् ।
यतिबेला गुराँस फुल्ने मौसम हो । गुराँसे वनहरु ढकमक्कै सिँगारिएका छन् । राताम्मे वनहरुले मनै लोभ्याउँछ, भोक-तिर्खै हराउँछ । खासगरी चैत, वैशाख अर्थात नयाँ वर्षकाे समयमा गुराँस वनमा लाली चढ्छ । लाग्छ, गुराँसले नयाँ वर्ष डाकेको हो । नत्र नयाँ वर्षले गुराँसको जवानी लिएर आएको हो । ‘हामी आउँदैछौं है’ भनेजसरी यिनीहरु सँगै आउँछन् । अनि, ‘गयौं है’ भन्दै सँगै जान्छन् । हुन पनि गुराँस र नयाँ वर्ष एक अर्काका पर्यायजस्तै लाग्छन् । नयाँ वर्षका घुमन्तेहरु गुराँसछेउ सायदै नपुग्दो हो । गुराँस नछुँदो हो, फोटो नखिच्दो हो । मजस्तो गुराँसदेखि टाढा रहेकाले पनि दिनमै पटक-पटक गुराँस सम्झिरहन्छु भने त्यही छेउछाउ भएकालाई गुराँसविनाको नयाँ वर्ष पनि सम्भव भयो होला ? म कल्पना गर्न सक्दिनँ ।
तुम्लिङटार विमानस्थलमा उत्रिएर चैनपुरबाट नुनढाकी, मादी वा मुढेशनिश्चरे हुँदै वा कोशी राजमार्गको बसन्तपुरबाट टुटेदेउराली हुँदै । ताप्लेजुङतर्फ भने दोभानबाट गोर्जा हुँदै वा मैवाखोला गाउँपालिकाको साँघु हुँदै । तेह्रथुमबाट मेन्छ्याम गाउँपालिका वा म्याङलुङ नगरपालिकाको जिरिखिम्ती हुँदै । उल्लेखित मार्ग भएर पुगिने गन्तव्य हो टीएमजे (तीनजुरे-मिल्के-जलजले) । जहाँ नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यो पर्यटकीय गन्तव्य मेरो गाउँबाट नजिक पर्छ । भौगोलिक निकटता भएर मात्र होइन, टीएमजेको दुर्लभ सौन्दर्यले पनि म लोभिन्छु । संखुवासभा छउञ्जेल गुराँस फुलेको समयमा म हरेक वर्ष टीएमजे एक वा दुईपटक पुगेकै हुन्थेँ । कति पटक त हिउँ परेको बेला पनि पुगेको छु । तर, हिउँ पर्दा भने माथिल्लो क्षेत्रसम्म पुग्न सकिन्नथ्यो । कारण, सवारी साधन गुड्न मुस्किल हुन्छ, बानी नपरेकाहरुका लागि पैदल हिँड्न पनि गाह्रो ।

टीएमजे भन्नाले तीनजुरे, मिल्के र जलजले गरी तीन क्षेत्र भनेर बुझ्न सकिन्छ । खासमा तीनजुरे, मिल्के र जलजले डाँडाका नामहरु हुन् । टुटेदेउरालीबाट उकालो लाग्दा भेटिने ठाउँहरु घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे, लामपोखरी, गुफापोखरी, सुकेबजार र जोरपोखरीलगायत हुन् । पूर्वतर्फ ताप्लेजुङ र तेह्रथुमको पानीढलो पर्छ भने पश्चिमतर्फ संखुवासभाको । यी दुई पानीढलो क्षेत्रको बिच भएर उत्तर-दक्षिण फैलिएको छ टीएमजे । उत्तरतर्फ लाग्दा क्रमशः तीनजुरे, मिल्के र जलजले भेटिने हो ।
मेरो अनुभवमा जति हामी उकालो अर्थात् जलजलेतर्फ लाग्छौं, गुराँसको प्रजातिमा पनि विविधता भेटिन्छ । साथै उत्तरी क्षेत्रमा अलि ढिलो गरेर फुल्ने गुराँसका प्रजातिहरु पाइन्छन् । तीनजुरे क्षेत्र मेरै साविक गाविस र हाल नगरपालिकाभित्र पर्ने भएकाले पनि त्यस क्षेत्रका गुराँस प्रजातिहरु मैले देखिरहेकै हो । एकपटक नयाँ वर्षकै दिन केही साथीहरुसहित म जलजले क्षेत्रसम्म पुगेको थिएँ । त्यही समयमा मैलै तल्लो क्षेत्रमा नदेखेको प्रजातिका गुराँसहरु जलजलेमा देखेँ । त्यतिबेला हाम्रोतिर गुराँस ढकमक्कै फुलिसकेको थियो । जबकि, जलजलेमा भने धेरैजसो भर्खर कोपिला लागिरहेको पाएको थिएँ ।
टीएमजे डुलेको, घुमेको मेरा यादहरु अब बर्सेनि पर धकेलिँदै छन् । पछिल्लो ७/८ वर्षयता म त्यता पुगेको छैन । कर्मको लहरीमा लहरिँदै विराटनगर, धरान हुँदै काठमाडौं आइपुग्दा म यतिबेला गुराँसका यादहरुले उद्देलित हुन्छु, तर पुग्न सकिरहेकाे छैन । यसपटक जसरी पनि टीएमजे पुग्ने चाहानालाई कर्तव्य र जिम्मेवारीसामु तिलाञ्जलि दिन विवश भएँ । टीएमजे क्षेत्रमा प्रवेश गरिसकेपछि जता हेर्यो उतै ढकमक्क गुराँस फुलेको रमणीय दृश्य । बिच-बिचमा चाँपका सेता फूलहरुले टाटेपाटे देखिने वनहरु । ती रंगीन तर सुनसान वनभित्र चौरी (सडक बनेपछि हिजोआज चौरी करिब विस्थापित भए), गाइवस्तु र भेडाबाख्राको घाँटीमा झुण्ड्याइएको घण्टी बज्दाको एकनास आवाज । मनै पागल बनाउने मोहनीवाला यी दृश्य र परिवेशहरु मानसपटलमा छन्, पुनर्ताजगी गर्न पाएको छैन ।
काठमाडौंको कोलाहल, धुलोधुवाँ, व्यस्तता र धपेडीबीच गुराँसका सम्झनाहरुमा डुबुल्की मार्दैछु । तन यता भए पनि मनैमनले टीएमजे डुलिरहेको हुन्छु दिनदिनै । गुराँसका पोथ्रा र रुखहरुमा लुकामारी खेलिरहको हुन्छु । मूलबाटोभन्दा कहिले तल कहिले माथि गर्दै जता-जता गुराँस फुलेको छ, त्यतैतिर लम्किरहेको हुन्छु । ज्यान टाढा भएर के भो ! गुराँस र टीएमजे हृदयमा अमीट छन् । अनि ‘माया मनभरि’ ।

प्रकाशित समय : ००:३३ बजे


















