गृहपृष्ठ बीमा व्यवसाय १३ प्रतिशतले बढ्यो, २ खर्ब ५६ अर्ब रुपैयाँको बीमाशुल्क संकलन
बीमा व्यवसाय १३ प्रतिशतले बढ्यो, २ खर्ब ५६ अर्ब रुपैयाँको बीमाशुल्क संकलन
काठमाडौँ । नेपालको बीमा क्षेत्रको व्यवसाय गत आर्थिक वर्ष २०८२/८३ मा १२.९१ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन र १४ निर्जीवन बीमा कम्पनीले समीक्षा अवधिमा कुल २ खर्ब ५६ अर्ब ५१ करोड ९५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।
अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरूले २ खर्ब २७ अर्ब १८ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा एक वर्षमा बीमा व्यवसाय २९ अर्ब रुपैयाँभन्दा बढीले बढेको हो।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले २ खर्ब ४ करोड ५९ लाख ७१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरूले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १५.६१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ थियो।
जीवन बीमालेख पनि बढे
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ६७ लाख ९२ हजार २३० पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ७.४३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ५६ लाख ३० हजार ९९९ थियो।
त्यस्तै, समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले जारी गरेका कुल बीमालेखको संख्या ७९ लाख ५३ हजार ३२ पुगेको छ। अघिल्लो वर्षको ७० लाख ५६ हजार ५८० को तुलनामा यो १२.८६ प्रतिशतले बढी हो।
निर्जीवन बीमातर्फ कुल बीमालेखको संख्या ३४ लाख ६७ हजार १६७ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बीमालेखको संख्या ३२ लाख ४४ हजार ३८३ थियो। यसमा एक वर्षमा ६.८७ प्रतिशत वृद्धि भएको प्राधिकरणले जनाएको छ।
प्रकाशित समय : २१:४८ बजे

















