गृहपृष्ठ नयाँ वर्ष र पत्रमित्रता : एक सम्झना
नयाँ वर्ष र पत्रमित्रता : एक सम्झना
समय क्रममा मानिसले आफ्नाे जाति र वंशको ‘बायोडाटा’ राख्ने उद्देश्यले साल, वर्ष, सम्वत, काल गणना राख्न थाले होलान् भन्न सकिन्छ । जे भए तापनि यो कामलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । यसरी हाम्रा पूर्खाहरुले आफ्नाे जाति र वंशको ‘बायोडाटा’ राख्ने प्रचलन सुरु नगरेको भए सम्भवतः इतिहासमा हाम्रो नाम, निशाना पनि रहने थिएन ।
जे होस्, यो गन्थन-मन्थनलाई छाडेर हामीले साल, संवत् र कालगणना फेरिएको दिनलाई मान्ने गरिएको ‘ह्याप्पी न्यु इयर’ अथवा भनौं ‘नयाँ वर्षको शुभकामना’भन्दै नयाँ वर्षको अवसरमा आदान-प्रदान गरिने शुभकामना सन्देशहरुका बारेमा केही चर्चा गरौं । हुन त आजभोलि नयाँ वर्षको अवसरमा धेरैजसो मानिसहरुले एसएमएस वा सामाजिक सञ्जालको माध्यमबाटै शुभकामना साटासाट गर्छन् । सामाजिक सञ्जालभित्र पनि पनि विविध फोरम, सोसल नेटवर्क आदि खोलेरै नयाँ वर्ष अथवा अन्य विभिन्न अवसरहरुमा शुभकामना दिने प्रचलन बढ्दो क्रममा रहेको छ । यसरी हेर्दाहेर्दै आजको जुग हिजोको जस्तो रहेन । जुन बेला कसैलाई कुनै अवसरमा शुभकामना दिन वा कुनै सन्देश पठाउन पत्र लेखेर खबर पठाउन हप्तौं वा भनौं महिनौं (ठाउँ र दूरीअनुसार) लाग्ने गर्थ्याे ।
आजभोलि त यसो मोबाइल (स्क्रीन टच मोबाइल) वा ल्यापटप अथवा ट्याब्लेट खोल्यो म्यासेन्जर बक्समा गयो, अनेक थरिका जनावर, पशुपक्षी, रुख, बिरुवा, खोलानाला, झिलीमिली बत्ती, दियो, हिमाल, फलफूल, कार्टुन, मानिसको आकृति आदिको तस्बिर खोज्यो, एट्याच गर्याे, सेन्ड गर्याे । केही सेकेन्ड अथवा केही मिनेटमै खेल खत्तम ! अनि टच स्क्रीन मोबाइल वा ल्यापटप अथवा ट्याब्लेट नहुनेले पनि साधारण मोबाइलबाटै पनि आफ्नाे शुभकामना सन्देशलगायत अन्य कुनै पनि सन्देश, समाचार र खबरहरु बोलेरै पनि पठाउन/सुनाउन सक्ने जुग आएको छ ।
यसरी हेर्दा ऊ बेलाको जुगजस्तो न त आफूले पठाएको सन्देश, समाचार र खबरहरु कहिले पुग्ने हो, अथवा नपुग्ने पो कि ? भन्ने चिन्ता लिइरहनु पनि परेन । फेरि पहिलेको जुगजस्तो हप्तौं र महिनौं दिनसम्म लाग्ने कुरो त झनै हुँदै भएन । त्यसैले आजको जुगलाई ‘डिजिल जुग’ भनिएको हो ।
तर, आजका हाम्रा छोराछोरी र भावी पुस्ताले त हाम्रा पालाको त्यो घटनाहरु, समाचार वा सन्देश पठाउने तरिकाहरु, कुराकानी गर्ने तरिकाबारे लेख्दा/भन्दा/सुनाउँदा नपत्याउलान् । तर, हाम्रा पालामा भएका ती कुराहरु त सही नै हो, वास्तविक नै हुन्, कुनै काल्पनिक कथा हालेर भनिएको वा लेखिएको मिथक होइन, हवाई कल्पनाको कथा पनि होइन । हुन पनि आजभोलिका हाम्रा केटाकेटीहरुले पत्याउन पनि कसरी ? जुन केटाकेटीहरुले यो धर्तीमा मान्छेको रुपमा पदापर्ण गरेको लगभग ९/१० महिनादेखि लिएर १३/१४ महिनाधित्रै (सहर-बजारको हकमा) स्क्रीन टच मोबाइलसँग साक्षात्कार हुन् पाउँछन्, स्क्रीन टच मोबाइल खेलाउन थाल्छन् । तर, माथिका कुरोहरु कुनै बेला (मेरै जमानामा) थियो है नानी-बाबु हो ! जुन जमाना साथीभाइ बनाउन मन लागेमा अथवा साथीभाइ बनाउन मन लागेर त्रैमासिक, मासिक, पाक्षिक, साप्ताहिक पत्रपत्रिकामा आफ्नाे अटो साइजको फोटासहित नाम, ठेगाना खुलाएर ‘पत्रमित्र’का लागि ‘पत्रमित्र’ स्तम्भमा छपाउन पठाइन्थ्यो । नाम मात्र होइन, अनेक ‘टाइटल’ (उपनाम) । ठेगाना पनि गाविस, वडा नम्बर, टोल, पोष्ट अफिस सबै खुलाइएको हुन्थ्यो ।
यसरी अरुले ‘आफूलाई साथीभाइ बनाउन्’ भनेर वा आफूलाई अरुहरुसँग साथीभाइ बन्न मन लागेर त्रैमासिक, मासिक, पाक्षिक, साप्ताहिक पत्रपत्रिकामध्ये धेरैजसो पत्रपत्रिकाले थोरै शुल्क पनि लिन्थे भने त्यसरी पठाइने ‘पत्रमित्र’ अनुरोधलाई केही पत्रपत्रिकाले सित्तैमा पनि छाप्ने गर्थे । विकल्पमा ‘हवाईपत्र, पोस्ट कार्ड, चिठीपत्र, सन्देश पत्र’ आदि पनि आफ्ना साथीभाइलाई छोटकरीमा शुभकामना अथवा अन्य सन्देश लेखेर पठाउने प्रचलन रहेको थियो । यसरी पत्रमित्रताका लागि रेडियोमा पनि विभिन्न कार्यक्रमहरु बज्थे । त्यस्ता कार्यक्रममा नाम, ठेगाना सुनेर पनि पत्रमित्रता हुन्थ्यो ।
टेलिफोन, इमेल, सामाजिक सञ्जाल केही नभएको त्यस बेला चिठ्ठीपत्र नै सम्पर्कको एक मात्र विकल्प थियो । पत्रमित्रता गर्नेहरुमध्ये एकैजनाको हजारौंको संख्यामा पनि पत्रमित्रहरु हुन्थे । ती पत्रमित्रहरुलाई विभिन्न अवसर खासगरी नयाँ वर्षमा शुभकामना सन्देश लेखेर पोष्टकार्ड (नायकनायिका वा कुनै दृश्यको एकपाताको तस्बिर), ग्रिटिङ कार्ड (अलि कलात्मक भएकाले पोष्टकार्डभन्दा महँगो, फोल्डिङ हुने) पठाउने चलन थियो । चलन मात्र के भनौं ! पर्व वा उत्सवजसरी पालना गरिन्थ्याे । नयाँ वर्ष सुरु हुन लागेपछि पछिसम्मै हुलाकमा त्यस्ता ‘कार्डवाला’ पत्रहरु आइरहन्थे । यसरी पत्र प्राप्त हुँदा एक किसिमको आनन्द महसुस हुन्थ्यो । ती पत्रमित्रहरुलाई स-सम्मान प्रत्युत्तर फर्काइन्थ्यो । एक हिसाबले नयाँ वर्ष र पोष्टकार्ड पर्याय नै थिए । पोष्टकार्डभरी कुँदिएर नयाँ वर्षका सन्देशहरु सयौं खोला तर्दै, डाँडाहरु काट्दै देश-देशसम्म छरिन्थे ।
यसरी पत्रमित्रता गर्दागर्दै कतिपय अत्यन्त हितैषी मित्र पनि बने, कति युवायुवती प्रेममा परे र पछि गएर विवाह गरेको उदाहरणहरु पनि छन् ।
प्रकाशित समय : २३:४६ बजे



















