गृहपृष्ठ आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका विभिन्न संरचना निर्माण भइरहेका छन्।
मेची राजमार्ग नजिकै रहेको यस स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। माङहिम परिसरमा सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा स्थापना भएपछि यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको हो।
यसै साता इलामको माङ्सेबुङबाट महागुरु फाल्गुनन्दको साढे सात फिट अग्लो प्रतिमा ल्याएर स्थापना गरिएको हिलिहाङ–६ का वडाध्यक्ष गणेशप्रसाद योङहाङले जानकारी दिए। एकै ढुङ्गाबाट बनेको उक्त प्रतिमा वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको आज्ञाअनुसार स्थापना गरिएको उनले बताए। प्रतिमा निर्माणमा मात्रै १५ लाख रुपैयाँ खर्च भएको र स्थापना गर्न थप तीन लाख रुपैयाँ लागेको उनको भनाइ छ।
स्थानीय ढुङ्गा काटेर माङहिम र अग्निकुण्डका संरचना निर्माण गरिएको छ। “यहाँ पाइने विशेष प्रकारका ढुङ्गा काटेर प्रयोग गरेका कारण निर्माणमा लामो समय लागेको हो,” वडाध्यक्ष योङहाङले भने, “जसले लागत पनि बढाएको छ।”
आत्मा पवित्र गुराँसे माङहिम नौ वर्षदेखि निर्माणाधीन छ। वडाध्यक्ष योङहाङका अनुसार २०७३ सालमा भारपा गाविसमार्फत २५ हजार रुपैयाँ बजेटबाट निर्माण सुरु गरिएको थियो। माङहिम निर्माणका लागि स्थानीयवासी काजीमान योङहाङका छोरा कविन्द्र योङहाङले चार रोपनी, राजकुमार योङहाङले चार रोपनी र श्रीप्रसाद योङहाङले आठ आना जग्गा उपलब्ध गराएको उनले जानकारी दिए।
हालसम्म माङहिम निर्माणमा करिब एक करोड रुपैयाँ लगानी भएको तर कुल एक करोड ५० लाख रुपैयाँ लागतको डिपिआर तयार भएकाले अझै थप रकम आवश्यक रहेको उनले बताए। माङहिममा भित्री संरचना, सिँढीमार्ग, घेराबारा तथा ढलानका काम बाँकी रहेको उनको भनाइ छ।
निर्माणाधीन माङहिम नजिकै लिम्बूवानका अन्तिम राजा हिलिहाङका फौज बस्ने गरेको पुलुथुम्कीसमेत रहेको छ। पुलुथुम्कीमा पनि आवश्यक पर्यटकीय संरचना निर्माण गरी यस क्षेत्रलाई थप आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको निर्माण समितिले जनाएको छ।
माङहिम निर्माणमा विभिन्न सङ्घसंस्था, दानवीर व्यक्ति, विदेशमा रहेका नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले दिएको सहयोगबाट लगानी भइरहेको छ। हिलिहाङ गाउँपालिकाले पनि केही लगानी गर्दै आएको वडाध्यक्ष योङहाङले जानकारी दिए। वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा पवित्रहाङ्मा लिङ्देनबाट प्रतिमा अनावरण र माङहिम उद्घाटन गर्ने तयारी गरिएको उनले बताए।
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाले माङहिमको विकासका लागि सक्दो लगानी गरिरहेको बताए। प्रदेश र सङ्घीय सरकारबाट अपेक्षाअनुसार लगानी प्राप्त हुन नसक्दा योजनाअनुसारका सबै संरचना निर्माण गर्न नसकिएको उनले भने।
प्रकाशित समय : ०५:५० बजे



















