गृहपृष्ठ घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र
घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र
तुलसीपुर । घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ।
नगरप्रमुख नरुलाल चौधरीका अनुसार यस अवधिमा ४५८ किलोमिटर सडक स्तरोन्नति तथा ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न गरिएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ वटा कल्भर्ट र पाँच वटा झोलुङ्गे पुल निर्माण गरिएको उनले बताए।
सहरी सौन्दर्यीकरण तथा सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण गरिएको छ भने एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको छ। नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी तथा कटानको जोखिम कम गरिएको छ।
नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले १०८ वटा कुवा र ७७ वटा डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगरप्रमुख चौधरीले बताए। कृषि क्षेत्रलाई लक्षित गरी ४३ वटा कृत्रिम जलाशय निर्माण गरिएको छ, जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको उनको भनाइ छ। ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र सात वटा सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ।
शिक्षा क्षेत्रमा २७ वटा विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा थपिएको छ भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको नगरप्रमुख चौधरीले बताए। स्वास्थ्यतर्फ २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन्। सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
घोराही उपमहानगरपालिकाले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई विधिसम्मत बनाएको छ। वडास्तरबाटै अनलाइन घटना दर्ता, अनलाइन नागरिकता सिफारिस तथा राजस्व सङ्कलनजस्ता विद्युतीय शासन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए।
वातावरण संरक्षणका लागि एक हजार ३०० वटा इन्डक्सन चुलो र ४५० वटा सुधारिएको चुलो वितरण गरी धुवाँमुक्त भान्सा अभियानलाई समेत सहयोग पुर्याइएको उनले बताए।
प्रकाशित समय : ०५:५३ बजे



















