गृहपृष्ठ यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासमेत यान्त्रिक हलो (मिनिटिलर) वितरण नगरेपछि किसान चिन्तित बनेका छन्।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउने भन्दै गत चैतमै किसानबाट ५० प्रतिशत रकम सङ्कलन गरेको थियो। कुश्मा नगरपालिकाका १४ वडाका ७०५ किसानले यान्त्रिक हलोका लागि निवेदन दिए पनि विभिन्न मापदण्डका आधारमा २०० किसान छनोट गरिएको थियो।
छनोट भएका किसानबाट प्रतिव्यक्ति २० हजार रुपैयाँ सङ्कलन गरिए पनि रकम बुझाएको तीन महिना बित्दासमेत यान्त्रिक हलो उपलब्ध गराउन नसकिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलका अनुसार बोलपत्र प्रक्रियाबाट छनोट भएको क्वालिटी रिन्युयबल प्रालि काठमाडौंले समयमा गुणस्तरीय उपकरण उपलब्ध गराउन नसक्दा वितरणमा ढिलाइ भएको बताए।
नगरपालिकाले उक्त कम्पनीसँग ६२ लाख ७९ हजार रुपैयाँ लागतमा यान्त्रिक हलो खरिदका लागि सम्झौता गरिसकेको छ। गत जेठ २१ गते सम्झौता भए पनि असारमा मात्र परीक्षणका लागि हलो उपलब्ध गराइएको र दुईपटकसम्म परीक्षणका क्रममा समस्या देखिएपछि पुनः अर्को उपकरण ल्याउन आग्रह गरिएको कृषि शाखाका निमित्त प्रमुख बलबहादुर जिटीले बताए।
जिटीका अनुसार नगरपालिकाले माग गरेको हलो कम्तीमा सात हर्सपावर क्षमताको र ८० किलो तौलको हुनुपर्ने भए पनि उपलब्ध गराइएका उपकरण मापदण्डअनुसार नभएकाले फिर्ता पठाएर अर्को माग गरिएको बताए।
कुश्मा नगरपालिका–२ का किसान टीकाराम शर्माले नगरपालिकामा निवेदन दिएर रकम जम्मा गरेको तीन महिना बितिसक्दा पनि हलो नपाउँदा ठूलो रकम खर्च गरेर खेतबारी जोत्नुपर्ने अवस्था आएको बताए।
“नगरपालिकाबाट समयमा नै गुणस्तरीय यान्त्रिक हलो आउला र वर्षेबाली लगाउँला भन्ने थियो तर तीन महिना बितिसक्यो, हलो आएन,” उनले भने, “अहिले प्रतिघण्टा एक हजार रुपैयाँ तिरेर जोत्नुपर्ने अवस्था आएको छ।”
उनजस्तै अन्य किसानले पनि समयमा हलो उपलब्ध नगराएको भन्दै गुनासो गरेका छन्।
सम्झौता गरेको कम्पनीले समयमा गुणस्तरीय सामग्री उपलब्ध गराउन नसक्दा किसानले सास्ती भोग्नुपरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए। उनले जतिसक्दो छिटो किसानलाई हलो उपलब्ध गराउने प्रयास भइरहेको बताए।
धान रोप्ने मुख्य समयमा यान्त्रिक हलो उपलब्ध नहुँदा किसान ठूलो समस्यामा परेका छन्। अहिले पर्वतमा धान र कोदो रोप्ने चटारो बढेकाले किसानलाई काम भ्याइनभ्याई भएको छ।
प्रकाशित समय : ०५:५५ बजे



















