गृहपृष्ठ आशाको दियालो बालिरहौं
आशाको दियालो बालिरहौं

व्यवस्था र परिस्थितिमा फेरबदल आए पनि राज्य सञ्चालनको समष्टिगत प्रणालीमा गुणात्मक परिवर्तन नहुँदासम्म सकारात्मक परिणाम आउँदैन । अपवादबाहेक हरेक अवधिका सूचकहरु बर्सेनि करिब उस्तै हुन्छन् । नेपालमा पनि विक्रम सम्वतको पात्रो फेरिँदा होस् वा आर्थिक वर्षको समाप्ति हुँदा, नतिजाहरु पूर्णतः अनपेक्षित हुँदैनन् । किनकि राज्यको प्रणालीमा त्यस अनुरुपको सुधार नै भएका हुँदैनन् । फलतः नतिजा करिब एकरुपकै दोहोरिरहन्छ ।
अनेकन् घटनाक्रमहरुलाई सूचीकृत गर्दै २०७८ सालले बिदा लिएको छ । फर्केर हेर्दा २०७८ सालमा केही बिर्सनलायक घटनाक्रम र केही आशाका किरणहरु समेटिए । यो किसिमको अवस्था त्यसअघिका वर्षहरुमा पनि भएकै हुन्, सर्वथा अनौठा होइनन् । २०७८ साललाई नेपालका लागि राजनीतिक रूपमा त्यति सुखद मान्न सकिन्न । सरकार परिवर्तन, त्यसका लागि दल र नेता-सांसदहरुको ‘निकृष्ट’ तिकडम पूर्णतः बिर्सनलायक रहे । देशको अर्थतन्त्र पनि निरन्तर ओरालो लाग्यो । दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य आकाशिए । समाजमा श्रृंखलावद्ध रुपमा भएका हत्या र बलात्कारका घटनाहरुले जनताको मन त्रसित र खिन्न तुल्यायो । कोराना महामारीको प्रभाव अघिल्लो वर्षझैं रह्यो । तर, सरकारको पहलकदमीले पर्याप्त खोप उपलब्ध हुँदा कोरोना संक्रमणदर क्रमशः ओरालो लागिरहेको छ । भ्रष्टाचार र अनियमितताका खबरहरु आइरहे । तर तीमध्ये अधिकांश कानुनसंगत किनारा लागेका छैनन् । खेलकुद क्षेत्रमा भने केही आशाका किरण झुल्कियो । क्रिकेट, फुटबल र महिला भलिबलको समग्र नतिजा सन्तोषजन रहे । केही व्यक्ति र निजी संस्थाहरुले पनि समाज रुपान्तरणका लागि सकारात्मक प्रयास देखाए ।
यसकारण, केही निराशाजनक अवस्थाबाहेक यस वर्ष पनि देशले समृद्धितर्फको यात्रामा केही न केही गति लिएकै मान्नुपर्छ । विश्वको चलायमान परिस्थितिका कारण पनि नेपालले भौतिक पूर्वाधारको क्षेत्र र सकारात्मक सूचकांकमा धेरथोर सुधार गरिरहेकै छ । यसमा पनि हामीले सन्तोष नै मान्नुपर्छ । परिवर्तनहरु एकाएक हुने हैनन् । हाम्रो देशमा पनि केही न केही राम्रा कामहरु भइरहेकै छन् । यदि देश र समाजमा भइरहेका कामहरुले आफूलाई सन्तुष्टि दिँदैन भने पनि हामी हरेकले आफ्नोतर्फबाट समाजप्रति सकारात्मक साेच राखाैं । त्यसका लागि प्रयास जारी राखौं । संसार नै अन्धकारमय भए पनि आफूसँग भएको धिपधिपे दियालो ननिभाऔँ । एक न एक दिन अँध्यारो अवश्य हट्नेछ । आशाको दियालो बालिरहौँ ।
यही वर्ष देशमा स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसपछि प्रदेश र संघको पनि निर्वाचन होलान् । हरेक निर्वाचनले नेपाल र नेपालीको भलो गर्ने व्यक्तिलाई विजयी बनाओस् । देशको सबै क्षेत्रमा आनन्दको सास फेर्न पाउने अवस्थाको सिर्जना होस् । न्युज कारोबार डटकमको तर्फबाट नयाँ वर्षको उपलक्ष्यमा सबैप्रति शुभकामना ।
प्रकाशित समय : १६:४२ बजे