global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राजनीतिक दलका नजरमा वर्ष २०७८ को ‘आँखीझ्याल’

राजनीतिक दलका नजरमा वर्ष २०७८ को ‘आँखीझ्याल’

राजनीतिक दलका नजरमा वर्ष २०७८ को ‘आँखीझ्याल’

राजनीतिक दलका लागि वर्ष २०७८ को सबैभन्दा ठूलो उपलब्धि नै स्थानीय तह निर्वाचनको मिति तोकिनुलाई मानिएको छ । ‘यो वर्ष स्वस्थ रहेन’, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, ‘धेरै अफ्ठ्यारा स्थितिहरु देखापरे । संसदले केही काम गर्न सकेन । सरकारले पनि कुनै उपलब्धि देखाउन नसक्ने गरी अस्थिरतामै फसिरह्यो । न्यायालयमा पनि अफ्ठ्यारो अवस्था देखापर्‍यो । देशको आर्थिक स्थिति झनै डमाडोल बन्यो । अहिले त गभर्नरलाई निलम्बन गरेर सरकारले सपार्नेभन्दा पनि झन् बिगार्ने काम गरेको छ । जनतामा प्रश्न छ, जनतामा निराशा छ । यो अवस्थामै चिर्दै अगाडि बढ्नुपर्ने चुनौती छ ।’

सत्ता गठबन्धनले चुनाव सार्ने बहाना गरिरहेका बेला प्रमुख प्रतिपक्ष एमालेसहितको दबाबमा स्थानीय निर्वाचनको मिति तोकिनुलाई एमालेले उपलब्धि मानेको छ । प्रतिनिधिसभा विघटन हुँदै छ महिना संसद् अवरोध गर्ने एमालेकै कारण देश अस्तब्यस्त बन्यो नि ? भन्ने प्रश्नमा नेम्वाङले भने, ‘हामी जनताको जनादेशप्राप्त गरेर सरकारमा भएको पार्टी हौं । जनताको जनादेशबाट होइन, सर्वाेच्च अदालतको आदेशबाट प्रमुख प्रतिपक्षमा पुग्यौं । जनताको जनादेश नभएका मित्रहरु सरकारमा पुग्नुभयो । हाम्रो पार्टी विभाजन भए पनि अहिले पनि हामी पहिलो पार्टीका रुपमा छौं । तर पनि एकजनामात्रै पार्टीबाट चोइटिएर गए पनि त्यो दुःखद नै हो भन्ने म बुझ्दछु ।’ नेम्वाङले प्रदेश र संघीय संसद्को आधार निर्माण गर्दै चुनावमा जानुपर्ने मुख्य चुनौती राजनीतिक दल समक्ष रहेको बताए ।

तर एमाले अध्यक्ष ओलीलाई सरकारबाट निकाल्नुलाई सत्ता गठबन्धनका दलहरुले प्रमुख उपलब्धि मानेका छन् । ‘वर्ष २०७८ अग्रगामी र प्रतिगामी विचारबीचको चरम द्वन्द्वका रुपमा मैले हेरेको छु,’ नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले भने, ‘अर्काे कोरोना र अन्तर्राष्ट्रिय क्षेत्रमा भएका घटनाक्रमले समेत जनताहरु पीडामा पर्ने काम भयो । अर्थव्यवस्थाका कतिपय संकेतहरु नकारात्मक अवस्थामा पुगे ।’ संसदीय राजनीतिमा संसद्, राष्ट्रपति र प्रधानमन्त्रीको कर्तत्व पालना गराउन पनि यो वर्षले भूमिका खेलेको पोखरेलको भनाइ छ ।

‘केही अप्रिय अध्यादेशजस्ता कदमहरु चालेर पनि सरकार निर्माण भएको छ,’ पोखरेलले भने, ‘सरसर्ती हेर्दा त्यो राजनीतिक स्वरूपभित्र त पर्दैन, तर प्रतिगमन विरुद्धको संघर्षले संविधान र संसद रक्षाका लागि पनि त्यो कदम चाल्नुपर्ने बाध्यात्मक अवस्था आइपर्‍यो । अब निर्वाचन हुँदैछ, सबै कुराको हल त्यहीँबाट निस्कन्छ ।’

राजनीतिक अस्थिरताले खैलाबैला मच्चिएको वर्ष २०७८ समाप्त भएर चुनावी वर्ष २०७९ सुरु हुँदैछ । सत्ता गठबन्धन चुनावी तालमेलसहित निर्वाचनमा होमिदैछ भने प्रमुख प्रतिपक्ष एमाले पनि साना दलहरुलाई सारथी बनाएर निर्वाचनको मैदानतर्फ अगाडि बढ्दैछ ।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु