गृहपृष्ठ पाथीभरा एकेडेमीमा दिक्षान्त समारोह
पाथीभरा एकेडेमीमा दिक्षान्त समारोह
सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रमेशप्रसाद सिटौलाले स्थापनाको १० वर्षमा विद्यालयले उल्लेख्य प्रगती गरेको जानकारी गराए । पहिलो बर्ष प्ले ग्रुप बाट कक्षा सुरु गरेको विद्यालयले प्रत्येक वर्ष कक्षा थप गर्दै जानेक्रममा हाल कक्षा ७ सम्म सञ्चालन गर्न सफल भएको उनको भनाइ छ । प्रिन्सिपल सिटौलाले विद्यालयको शैक्षिक गुणस्तर,स्तरीय हेरचाह र अभिभावकीय ब्यवहार तथा स्वस्थकर खानपान एवंम् वातावरणका कारण विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताए । उनले कोभिडका कारण कमजोर बनेको सिकाइलाई प्रभावकारी बनाउदै लगिएको जिकिर गर्दै ३ वर्ष देखि रोकिएको औपचारिक कार्यक्रम गर्न पाएकोमा सन्तोष समेत व्यक्त गरे ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेशनल प्याब्सन,भक्तपुरका अध्यक्ष संजय खड्काले शैक्षिक प्रगतीका लागि विद्यालय र अभिभावकले हातेमालो गर्नुपर्ने आवश्यकता औल्याए । 'विद्यालय वा अभिभावक एउटा पक्षले मात्र हात अघि बढाएर हुँदैन,दुवै पक्षको उत्तिकै साथ र सहयोग चाहिन्छ ।' उनले भने । अध्यक्ष खड्काले अभिभावाकहरुले विद्यालयबाट अपेक्षा बढी गर्ने तर आफ्नो कमजोरी नदेख्ने कारण समस्या हुने गरेको गुनासो गरे । विद्यालयमा पढ्न पठाएर मात्र नहुने भन्दै उनले आफ्ना बालबालिकाको संगत, उनीहरुको व्यवहार र चरित्र निर्माणमा समेत ध्यान दिन अभिभावकलाई सुझाव दिए ।
एक फरक प्रसंगमा बोल्दै उनले कोभिडले ग्रस्त शिक्षा क्षेत्रमा माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसइई)को मूल्यांकन विधिमा अवैज्ञानिक तवरले संशोधन गरी सरकारले गल्ती गरेको आरोप लगाए । सिकाइको निरन्तर विद्यार्थी मूल्यांकन विधिलाई लत्याउदै अंक तोकेर पूरानै पासफेलको नियम ल्याउदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पार्नसक्ने प्रति उनले चिन्ता व्यक्त गरे । आफ्नो संगठन एनप्याब्सन ३ घन्टे मूल्यांकन विधिमा नभई कक्षा कोठा देखिकै नियमित सिकाइ मूल्यांकन विधिको पक्षमा रहेको उनको भनाइ छ ।
कार्यक्रममा विद्यालयले आफ्ना अमूल्य सन्ततीलाई पढाउने अवसर दिएकामा अभिभावकलाई विशेष अतिथि मानेर विद्यालयकी एकाडेमिक कोअर्डिनेटर सर्मिला प्रधानाङ र मन्टेश्वरी इन्चार्ज कमला लिम्बुले खादा लगाई अभिनन्दन गरेका थिए भने अभिभावकको विश्वास र अपेक्षा अनुरुप कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं जलविद्युत उद्यमी बमबहादुर थापाको अध्यक्षतामा सम्पन्न समारोहमा बिध्यालय सञ्चालक समिति सदस्य हेमन्त सिटौला, बुद्धिबहादुर थापा वी क्यान नेपालका अध्यक्ष रत्न राइ, विद्यालयका सल्लाहकार टंकप्रसाद सिटौला, युनिक स्कूलका निर्देशक मुक्त जिसी, देबश्री बहुउद्देश्यीय सहकारी का अध्यक्ष एनपी सिटैला,सुर्यनगर टोलका अध्यक्ष बालकृष्ण नेउपाने, समाजसेवी तथा शिक्षा प्रेमी ध्रुब प्रसाद सिवाकोटी नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।बिधालय सन्चालक अध्यक्ष रामचन्द्र थापामगरले सम्पुर्ण उपस्थित अभिभावक लाई स्वागत गर्दै बिधालयमा अहोरात्र खट्ने शिक्षक ( शिक्षिका र प्राध्यापक लाई धन्यवाद ग्यापन गरेका थिए ।
उक्त अवसरमा खेल्ने समूहमाबाट सिक्ने समूह कक्षा १ मा पुगेका बालबालिकाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने अघिल्लो २ वर्ष दिक्षान्त समारोह हुन नपाएकाले कक्षा २ र ३ का बालबालिकालाई पनि दीक्षित गरिएको थियो । अतिथिले उनीहरुलाई अविर,ब्याच र प्रमाणपत्र प्रदान गरेका थिए भने अभिभावक पुष्प गुच्छा दिएर दिक्षान्त समारोहमा सरिक भएका थिए ।अभिभावकको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीले गीत,नृत्य लगायत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा यस वर्ष उत्कृष्ट शिक्षण सिकाइमा संलग्न भएको भन्दै विद्यालयले आफ्ना २ शिक्षक रजिना श्रेष्ठ र श्रीशा कवा लाई सम्मानित समेत गरेको थियो । बिधालय शिक्षिका यसोदा उप्रेती लगाएत शकुन्तला पोख्रेल , कल्पना वोलि र सपना अधिकारी ले सम्पुर्ण अभिभावक र अतिथी लाई गेटमै बसेर स्वागत गरेका थिए ।
प्रकाशित समय : १५:१८ बजे

















