global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो छ नेपाली चलचित्रको कमाइ

यस्तो छ नेपाली चलचित्रको कमाइ

यस्तो छ नेपाली चलचित्रको कमाइ

काठमाडौँ। चलचित्र विकास बोर्डले चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको यही जेठ ९ गते शनिबारसम्मको व्यावसायिक विवरण आज सार्वजनिक गरेको हो ।

सार्वजनिक तथ्याङ्कअनुसार लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘परालको आगो’ ले चार करोड २७ लाख ५३ हजार ६४५ कमाइ गरेको छ । सुशील पोखरेलले निर्माण गरेको उक्त चलचित्रका लागि एक लाख ५३ हजार ९२५ टिकट बिक्री भएका छन् । गत वैशाख ११ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायतका कलाकारले अभिनय गरेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ ले गत शनिबारसम्म पाँच करोड ७६ लाख ३९ हजार ४७१ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले उत्साहित भएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिए ।

उनले भने, “हामीले घरेलु दर्शकबाट पाएको मायाले कृतज्ञ भएका छौँ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाए। आगा मी दिनमा हामीलाई यस किसिमका सामाजिक विषयमा चलचित्र निर्माण गर्न हौसला प्राप्त भएको छ ।”

उहाँका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

गत वैशाख २५ गतेदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङगले’ ले ५१ लाख ६३ हजार ५९३ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल १६ हजार १३७ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गरेको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायतका कलाकारले अभिनय गरेको छ । प्रकु पाण्डेयले निर्देशन गर्नुभएको उक्त चलचित्रले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन ।

वैशाख २५ मै प्रदर्शन भएको तेस्रो चलचित्र ‘गुरु आमा’ ले
२९ लाख ४२ हजार ५७६ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गरेको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धु्रव कोइराला, उत्तम केसी, गिरीबहादुर पुन लगायतका कलाकारले अभिनय गरेको छ ।

गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाइ गरेको छ । सहारा शर्माले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मालगायतले अभिनय गरेको छ ।

गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले रु २८ लाख ४६ हजार १७० कमाइ गरेको छ । निमेष श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल नौ हजार २४१ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीशजङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूले अभिनय गरेको छ ।

चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गर्ने गरेको छ ।

प्रकाशित समय : १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु