global ime bank Long Banner Ad

गृहपृष्ठ वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गर्ने तयारी

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गर्ने तयारी

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गर्ने तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयले आयोजना गरेको परिमार्जित पूर्वप्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँगको अन्तर्क्रिय उनले अनिवार्यरूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारबाही गरिने बताए ।

मन्त्री श्रेष्ठले सेवाग्राहीहरूलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमूलक हुने भएकाले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानुकूल बनाइने बताए । अभिमुखीकरण तालीम प्रदायक संस्थाहरूलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने उनको भनाइ छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन विषयगत तालिमलाई पनि प्रभावकारी बनाउनुपर्ने सचिव अर्यालले बताए ।

मन्त्रालयका सल्लाहकार डा. केशव बस्यालले पूर्वप्रस्थान अभिमुखीकरण तालिममा गन्तब्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानुन, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए । उनले पूर्व प्रस्थान अभिमुखीकरण तालिम अहिले प्रभावकारी हुन नसकेको बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गन्तब्य मुलुकसँग सम्बन्धित महत्वपूर्ण जानकारी, विद्यमान कानुन, धर्म, संस्कृति, रीतिरिवाज साथै केही समस्या परेमा कानुनी उपचारका लागि उपलब्ध सेवा तथा प्रक्रियाहरूको बारेमा जानकारी दिनुपर्ने बताए । वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरी देशगत म्यानुअल तयार गरिएको बताए ।

अभिमुखीकरण प्रदान गर्ने संस्थाका प्रतिनिधिहरूले न्यून शुल्कमा गुणस्तरीय तालिम प्रदान गर्न कठिनाइ रहेको भन्दै आफूहरुको समस्या पनि सम्बोधन गरिनुपर्ने बताएका थिए । नेपाल सरकारबाट अनुमतिप्राप्त अभिमुखीकरण तालीम प्रदायक संस्थाहरुबाट पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २७ र वैदेशिक रोजगार नियमावली, २०६४ को उपनियम २० मा वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रूपमा वैदेशिक रोजगारमा जानुपूर्व तोकिएबमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु