global ime bank Long Banner Ad

गृहपृष्ठ २१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी

२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी

२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकाका २१ वटा हवाई तथा नौसैनिक सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी सेनाले इरानी लक्ष्यमा गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप चर्किएको छ ।

इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार आईआरजीसीले अमेरिकाको एफ–३५ लडाकु विमानका ह्याङ्गरहरूलाई समेत निशाना बनाएको दाबी गरेको छ । साथै, जोर्डनस्थित अल–अजराक अमेरिकी कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको र मुवाफक साल्ती हवाई अड्डामा पनि आक्रमण भएको उल्लेख गरिएको छ ।

त्यसैगरी, बहराइनमा रहेको अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालयमा ड्रोन आक्रमण गरिएको आईआरजीसीले जनाएको छ । उक्त आक्रमण दक्षिणी इरानमा अमेरिकी हमलाको प्रतिक्रियास्वरूप गरिएको दाबी गरिएको छ ।

यसैबीच, स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी सरकारी सञ्चारमाध्यमहरूले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरू पनि पुनः निशानामा परेको बताएका छन् । यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यसअघि अमेरिकी केन्द्रीय कमाण्डले हर्मुज जलडमरूमध्यमा अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनापछि इरानविरुद्ध ‘आत्मरक्षात्मक सैन्य कारबाही’ सुरु गरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी आक्रमणबाट अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको दाबी गर्दै अमेरिकाले आवश्यक जवाफ दिने बताएका थिए । हेलिकोप्टरमा रहेका दुवै चालक भने सकुशल रहेको जनाइएको छ ।

उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई फारसी खाडी क्षेत्रबाट बाहिरिन चेतावनी दिँदै इरानमाथिको कुनै पनि आक्रमण वा धम्कीको कडा प्रतिकार गरिने बताएका छन् । उनले इरानका सशस्त्र बल कुनै पनि चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन् ।

इरान र अमेरिकाबीचको प्रत्यक्ष सैन्य तनाव बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ । इजरायल–इरान द्वन्द्वसँगै विकसित पछिल्ला घटनाक्रमले सम्पूर्ण क्षेत्रलाई नयाँ सुरक्षा संकटतर्फ धकेल्ने चिन्ता बढेको विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु