काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गरिब तथा असहाय बालबालिकालाई लक्षित गर्दै रोहिणीमा बालबगैँचा कार्यक्रम सुरु

924
shares

रुपन्देही । रोहिणी गाउँपालिकाले विद्यालयको पहुँचबाहिर रहेका तथा भर्ना भएर पनि नियमित अध्ययन नगरी बीचमै पढाइ छाड्ने बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले ‘बालबगैँचा’ कार्यक्रम सुरु गरेको छ ।

नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरले रुपन्देहीको रोहिणी गाउँपालिकामा बालबालिकाको सर्वाङ्गीण विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि र खेल्दै सिक्ने वातावरण निर्माण गर्ने उद्देश्यसहित सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

विद्यालयमा शिशु कक्षामा भर्ना भएका बालबालिकाको नियमित उपस्थिति सुनिश्चित गर्नुका साथै शिक्षाबाट वञ्चित बालबालिकाको पहिचान गरी विद्यालयसम्म पुर्याउने लक्ष्य कार्यक्रमले राखेको नेपाल बाल कल्याण संस्थाका अध्यक्ष धर्मबहादुर खड्काले जानकारी दिए ।

बालमैत्री वातावरण निर्माण गरी बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्ने र सिकाइ प्रक्रियालाई रमाइलो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । सो संस्थाका अनुसार बालबालिकाको नियमित उपस्थितिका लागि अभिभावकसँग निरन्तर सम्पर्क र समन्वय गरिने र कम्तीमा दुई वर्षसम्म सञ्चालन हुने सो कार्यक्रममा बालबालिकालाई पौष्टिक आहार, पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराइनेछ ।

‘बालबगैँचा’ कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण, आवश्यक उपचार, अतिरिक्त अध्ययन तथा विभिन्न सिर्जनात्मक र शैक्षिक गतिविधिसहित अभिभावक तथा समुदायलाई लक्षित गरी शिक्षाको महत्वसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष खड्काले बताए।

सार्वजनिक विद्यालयसँग सहकार्य गरी सञ्चालन हुने उक्त कार्यक्रमका लागि १० लाख खर्च हुने अनुमान गरिएको आयोजक संस्थाले जनाएको छ । विद्यालयमा भर्ना भएर पनि पढाइ छाड्ने तथा विद्यालयमा भर्ना नै नभएका बालबालिकाको अवस्था पहिचान गरी उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष खड्काले स्पष्ट गरे ।

उनले बालबालिका नियमित विद्यालय नआउनुका कारण पहिचान गरी विद्यालय परिवार, अभिभावक र समुदायसँगको सहकार्यमा समाधान खोजिने जानकारी दिए । गरिबी तथा आर्थिक अभावका कारण बालबालिकाले पढाइ छाड्ने गरेको पाइएमा सम्बन्धित परिवारलाई लक्षित गरी आयआर्जनका कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष खड्काले बताए ।

कार्यक्रम सञ्चालन गरिएको क्षेत्र आसपास आदिवासी, दलित, सीमान्तकृत, मुस्लिम तथा आर्थिक रूपमा विपन्न समुदायको उल्लेख्य बसोबास रहेको छ । आर्थिक तथा सामाजिक कारणले बालबालिकाको शिक्षामा निरन्तरता प्रभावित हुन सक्ने भएकाले विद्यालयको वातावरण सुधारसँगै परिवार र समुदायको सहभागितालाई पनि कार्यक्रमले प्राथमिकता दिएको छ ।