गृहपृष्ठ कमर्शियल बैंकहरुबीच ब्याजदर नबढाउने सहमति
कमर्शियल बैंकहरुबीच ब्याजदर नबढाउने सहमति

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) ले बैशाखको लागि ब्याजदर नबढाउने निर्णय गरेको छ । बैंकर्स संघको आज आइतबार बसेको कार्यसमिति बैठकले बैशाख महिनामा ब्याज नबढाउने सहमति गरेको हो ।
हाल कायम रहेको मुद्दती निक्षेपको उच्चतम ब्याजदर ११.०३ प्रतिशत बैंशाख महिनाका लागि पनि कायम गर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले जानकारी दिए । 'ब्याजदर बढाएर पनि नयाँ निक्षेप नआउने भएकाले परिवर्तन नगर्ने निर्णय भएको हो,' उनले भने,'बढाउने नबढाउने विषयमा अन्य सहभागिहरुले पनि केही नभनेपछि स्थिर राख्ने निर्णयमा सबै सहमत भएको हो ।'
बैंकर्स संघले ब्याजदर नवढाउने निर्णय गरेपछि विकास बैंकर्स संघले पनि ब्याजदर नवढाउने भएको छ । विकास बैंकहरुले पनि बैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.५५ प्रतिशत नै कायम गर्ने बताउदै डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्यूमन पाख्रेलले भने,'बाणिज्य बैंकले ब्याजदर नबढाउने भएपछि विकास बैंकको पनि बढ्दैन ।'
त्यसैगरी फाइनान्स कम्पनीले पनि आगामी महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बाणिज्य तथा विकास बैंकले ब्याजदर नबढाएपछि फाइनान्स कम्पनीले पनि नबढाउने नै निर्णय हुने एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । फाइनान्स कम्पनीले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर चैत महिनाकै ११.७१ प्रतिशतलाइ निरन्तरता दिएका हुन् ।
प्रकाशित समय : २३:२९ बजे