अर्थनीतिलाई सबैभन्दा ठूलो नीतिका रुपमा लिएर अघि बढ्न जरुरी छ : कोषाध्यक्ष प्रधान
वि.सं.२०८३ कात्तिक १४ शनिवार १५:२४
shares

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघ तथा ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई शुभकामना, बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले पोजिटिभ चेन्ज ल्याउनै पर्छ र यसको लागि अब हामी सबै एक भएर अगाडि बढ्नुपर्छ। जबसम्म हामी युनाइटेड हुँदैनौँ, तबसम्म पोजिटिभ चेन्ज ल्याउन गाह्रो हुन्छ ।’
उनले पछिल्लो समय समाजमा भइरहेका गतिविधिले पनि विभिन्न सन्देश दिइरहेको उल्लेख गर्दै आर्थिक गतिविधिलाई केन्द्रमा राखेर उद्यमशीलता र व्यवसाय विस्तार गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘जहिले पनि राजनीति सबैभन्दा ठूलो नीति भनेर भन्छौँ। हुन त हो तर अहिले आएपछि सबैले महसुस गरेको के हो भने अर्थनीति सबैभन्दा ठूलो नीति हो। जबसम्म हामी इकोनोमिकली साउन्ड हुँदैनौँ, तबसम्म हामीले केही गर्न सक्दैनौँ। त्यसैले अर्थलाई केन्द्रमा राखेर हाम्रो इन्टरप्रेनरसिप र इकोनोमिक एक्टिभिटिजहरू बढाउँदै जानुपर्छ।’
प्रधानले अहिले देशमा माग घटेको र व्यवसायीहरूले कठिन परिस्थिति सामना गरिरहेको उल्लेख गर्दै अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए । उनले यसका लागि महासंघ सँधै तयार रहेको बताउँदै निजी क्षेत्रको सहकार्य र एकताबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुने धारणा राखे ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष भूमि नन्दन कर्माचार्यले ललितपुरलाई आर्थिक रूपमा सबल र उद्यमशीलताको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सबै पक्षको साझा दायित्व रहेको बताए ।
उनले ललितपुरको कला, संस्कृति, सम्पदा, परम्परा र उद्यमशीलताको ऐतिहासिक पहिचानलाई थप सुदृढ बनाउनुपर्ने बताए ।
उनले भने, ‘ललितपुर जिल्लाको कला–संस्कृति, सम्पदा र परम्परा र उद्यमशीलताको ऐतिहासिक पहिचान बोकेको जिल्ला हो। यहाँको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उद्योगी व्यवसायीहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । यस पहिचानलाई अझ सुदृढ बनाउन ललितपुरलाई आर्थिक रूपमा सबल र उद्यमशीलताको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नु हाम्रो साझा दायित्व हो।’
उनले उद्योग तथा व्यवसायीहरूको हकहित र संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय उत्पादन प्रवद्र्धन, पर्यटन तथा हस्तकलाको विकास, युवा उद्यमीलाई प्रोत्साहन र नयाँ लगानीका अवसर सिर्जना गर्ने दिशामा आफूहरू प्रतिबद्ध भएर अघि बढ्ने बताए ।

























