गृहपृष्ठ हवाइजहाजको स्याहारमा ५७ वर्ष बिताएका ‘राज दाइ’, जसले काेरेर गए ‘सुन्दर कथा’हरू
हवाइजहाजको स्याहारमा ५७ वर्ष बिताएका ‘राज दाइ’, जसले काेरेर गए ‘सुन्दर कथा’हरू
कुनै पनि व्यक्तिले एउटै क्षेत्रमा कति वर्षसम्म काम गरिरहला ? १५, २० या २५ ? अथवा पेन्सनको सेवा अवधि नपुगुञ्जेल ? धेरैको हदमा यही कुरा अनुमान गर्न सकिन्छ । तर, केही यस्ता दुर्लभ पात्र पनि हुन्छन्, जो असम्भवझैं लाग्नेगरी निकै नै लामो समयसम्म एउटै क्षेत्रमा काम गर्छन् । यस्तै दुर्लभ पात्रमध्ये एक हुन् स्वर्गीय शारदाभक्त राजभण्डारी । अर्थात् ‘राज दाइ’ ।
कुराकानीको क्रममा उनले भनेका थिए, ‘हवाइजहाज भनेको मेसिन मात्र होइन, जीवित आत्मा हो । दिनरात छुँदा-छुँदा हामी उसको पीडा, दुखाइहरु बुझ्छौं । उ पनि हामीलाई हेरेर हाँस्छ ।’ यसबाट पनि थाहा हुन्छ कि उनले आफूलाई हवाइजहाजसँगको सम्बन्धमा कति निकट पाउँथे भनेर । हवाइजहाज मर्मतको काममा आफूले बाँचेको जीवनमध्ये करिब ६ दशक अर्थात ५७ वर्ष खर्चेका राज दाइले त्यो अवधिलाई निकै मार्मिक ढंगले व्यक्त गरेका छन् । उनले सन्तुष्ट र गाैरवान्वित भावमा भनेका छन्, ‘जति समय मैले यस क्षेत्रमा बिताएँ । त्यो समय, ती कामहरु, साथीभाइ मेरा सुन्दर कथाहरु हुन् ।’ उनका ती 'सुन्दर कथा'हरू हरेकका लागि प्रेरणादायी छन् । आधा शताब्दीभन्दा बढी समय ‘हवाइ प्राविधिक’ रहेका उनी आफूले काम गरेका ती हरेक दिनहरुमा अत्यन्तै रमाइलो लाग्ने गरेको बताएका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्पाउण्डभित्र मभन्दा जेठो केही छैन । एउटा मन्दिर थियो । उसलाई पनि कोटेश्वरमा भक्तपुर जाने बाटोछेउमा लगेर राखिएको छ । यसबाहेक एयरपोर्टमा भएका सबै चिज मेरा भाइहरु हुन् ।’ हवाइजहाजको ‘सुसार’मा उनले बिताएका ‘जुग’ यसबाट अनुमान लगाउन सकिन्छ ।
पाटनमा सन् ३१ डिसेम्बर, १९३९ मा जन्मिएका उनको गत मार्चमा निधन भयो । आफ्ना समकालीन र हवाइ क्षेत्रका हरकोहीका लागि उनी सम्झनामा छाइरहने पात्र हुन् । हवाई प्राविधिकजस्तो सिक्ने र सिकाउने सन्दर्भमा सधैँ आफूलाई अपडेट गरिरहनु पर्ने र काममा अति नै संवेदनशील हुनुपर्ने क्षेत्रमा राज दाइले आफूलाई अब्बल सावित मात्र गरेनन्, आफूसँग संगत गरेकाहरुको मनमस्तिष्क र समग्र नेपाली हवाई क्षेत्रमै अमीट छाप पनि छाडे । उनीसँगै काम गरेका दुई सहकर्मीहरुको संस्मरणमा राज दाई :
राजेन्द्र क्षेत्री
बेस मेन्टिनेन्स एण्ड वर्कशप म्यानेजर, बुद्ध एयर
राज दाइको बुवा दरबारको सुब्बा हुनुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जबराले नेपाल छाडेर भारतको देहरादून जाँदा त्यतिबेला राज दाइको बुवा पनि सँगै जानुभएको थियो । बुवासँगै देहरादून गएपछि दाइको शिक्षा पनि त्यहाँको राम्रो बोर्डिङ स्कुलमा भएको हो । उहाँले त्रिचन्द्र कलेजबाट बीएस्सी गर्नुभएको थियो ।
तत्कालीन शाही नेपाली वायसेवा निगमको सुरुवातीताका एयरक्राफ्ट मेन्टिनेन्समा इञ्जिनियर र प्राविधिकहरु सबै भारतीयहरु मात्रै थिए । निगमले नेपालीलाई नै प्राविधिक बनाउनुपर्छ भनेर राज दाइसहित १२ जनालाई तालिमका लागि फुल स्कलरसिपमा पाकिस्तान पठाइएको हो । १४ जुलाई १९६४ मा पाकिस्तान गएको सो टोलीले एयर फोर्समा चार वर्षे कोर्ष गरेको हो । त्यसपछि उहाँहरुले निगममा करिअर सुरु गर्नुभएको हो । पछि निगमले ट्वीनअटर, त्यसपछि पिलाटस पोर्टर जहाज ल्यायो । ति सबैमा लाइसेन्स लिएर उहाँले काम गर्नुभयो । सन् १९७२ तिर बोइङ ७२७ सार्वजनिक भएपछि उहाँहरुको टोलीले नै त्यसमा पनि तालिम लिएर काम गर्नुभयो ।
.jpg)
उहाँ प्रविधि र ज्ञान हस्तान्तरणको हिसाबले अब्बल र दुर्लभ नै हुनुहुन्थ्यो । आफूभन्दा जुनियरहरुलाई नआएको कुरा ‘यो हो, यसो हो’ भनेर खुलेर सिकाउनु हुन्थ्यो । हामीले उहाँबाट धेरै कुरा सिक्न पायौं । उहाँले प्रशिक्षकको समेत तालिम लिनुभएको थियो । उहाँ खालि मेन्टिनेन्समात्र नभएर प्राविधिक क्षेत्रको क्वालिटी सिस्टम, कन्ट्रोल सबैमा राम्रो अनुभव भएकाले नयाँहरुलाई सिकाउनु पनि हुन्थ्यो । उहाँसँग सन् १९७७ बाट १९९१ सम्म सम्पर्कमा रहेर मैले काम गर्ने मौका पाएँ ।
उहाँको उपनाम राज दाई यति पपुलर कि, उहाँभन्दा सिनियर र जुनियर सबैले बोलाउने नाम ‘राज दाई’ । यही नामले बोलाउँदा उहाँ खुसी हुनुहुनथ्यो । उहाँ रिसाएको मैले कहिल्यै देखिनँ । सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो । नजानेको कुरा सिकाउने र आफूलाई कन्फ्युज भएका कुराहरु सोध्ने पनि उहाँको बानी थियो । उहाँमाथि यतिसम्म विश्वास गरिन्थ्यो कि, राजाको समयमा जति पनि भीभीआइपी उडानहरु हुन्थे, अधिकांशमा मेन्टिनेन्सको पाटोबाट उहाँको सहभागिता अनिवार्य थियो । कुनै नयाँ जहाज लिनुपर्दा त्यसको असेप्टेन्स (स्वीकृति) गर्ने काम उहाँकै नेतृत्वमा हुन्थ्यो ।
राज दाईजस्तो मिलनसार, सहयोगी र प्रभावकारी प्रशिक्षण गर्न सक्ने मान्छे मैले आजसम्म भेटेको छैन । केही दिनअघि पनि मैले उहाँका समकालीनहरुसँग भेटघाट र कुराकानी गरेँ । ‘साह्रै राम्रो मान्छे जानुभयो’ भनेर कुरा गर्यौं । उहाँका समकालीन, उहाँलाई चिनेजानेका जोकोहीले उहाँलाई बुझ्ने नै यसरी नै हो । उहाँमा आफूले काम गरिरहेको क्षेत्रसँग यति आत्मीय निकटता थियो कि रिटायर भइसक्ने अवस्थामा पनि उहाँ काम गरिरहनु भएको थियो । आर्थिक हिसाबले उहाँ सम्पन्न व्यक्ति, तथापि निरन्तर काम गरिरहनुभयो । यतिका लामो समयसम्म काम गर्नुमा आर्थिक उपार्जनको उद्देश्य पटक्कै होइन । नयाँ पुस्तालाई ज्ञान र प्रविधि हस्तान्तरण अनि आफूमा भएको दक्षतामार्फत योगदान गरिरहने तीव्र अभिलाषा उहाँमा थियो । सन् १९६४ देखि २०२१ डिसेम्बरसम्म उहाँले यही क्षेत्रमा काम गरिरहनु भयो ? यो सानो लगाव हो ? जबकि उहाँका ब्याची वा समकालीनहरु अधिकांशले उहिल्यै रिटायरमेन्ट लिइसक्नु भएको थियो ।
उपेन्द्रलाल श्रेष्ठ
क्वालिटी एस्योरेन्स म्यानेजर, बुद्ध एयर
उहाँसँग मेरो सम्पर्क चाहिँ नेपाल एयरलाइन्समा भएको थियो । नेपाल एयरलाइन्समा मैले सन् १९९७ देखि काम गर्न थालेको हो । डिपुटी डाइरेक्टरसम्मको जिम्मेवारीमा पुगेपछि सन् १९९९ मा राज सर रिटायर हुनु भएको हो । त्यसको करिब एक वर्षसम्म त्यतिकै बस्नुभयो । त्यसपछि सरले गोर्खा एयरलाइन्समा काम गर्न थाल्नुभयो । सुपरिटेन्डेन्ट इञ्जिनियरको रुपमा त्यहाँ पाँच वर्ष जति काम गर्नुभयो होला । गोर्खा छाडेको झण्डै डेढ वर्षपछि सरले बुद्ध एयर ज्वाइन गर्नुभएको हो । बुद्ध एयरमा उहाँले कोभिड महामारी हुनुभन्दा अघिसम्म सिनियर इञ्जिनियर तथा बेस मेन्टिनेन्स म्यानेजरको रुपमा काम गर्नुभयो । महामारीकै समयमा उहाँले राजीनामा दिनुभएको हो । तर पनि उहाँको अनुभव र क्षमता आवश्यक पर्ने भएकाले अनुरोध गरेर कम्पनीले बोलाइरहेको थियो । खासगरी कुनै जहाज बेस मेन्टिनेन्स गर्नुपरेको खण्डमा आवश्यकताअनुसार राज सरलाई अनुरोध गरेर बोलाइरहेका थियौं । कोरोनाको दोस्रो लहर आउनुअघि उहाँ दुवै छोरा भेट्न अमेरिका जानु भएको थियो ।
.jpg)
राज सरको एउटा बानी कस्तो भने उहाँ कहिल्यै चिन्तित र हतास नहुने । उहाँ एकदमै हँसमुख व्यक्ति । अफिस आउँदा उहाँमा घरको वा अन्य कुनै किसिमको तनाव देखिन्नथ्यो । उहाँ बिरामी भएको पनि मैले कहिल्यै थाहा पाएको थिइनँ । अफिसमा हुने सानातिना असहजताहरुले उहाँलाई कुनै प्रभाव पार्दैनथ्यो । एउटा प्राविधिकले जे जसरी काम गर्नुपर्ने हो, राज सरले त्यो कामलाई पूर्णतः व्यवसायिक ढंगले काम गर्नुहुन्थ्यो ।
सिकाउने र सिक्ने विषयमा उहाँ अब्बल हुनुहुन्थ्यो । हेल्पर होस् वा क्लिनर, प्राविधिक वा इञ्जिनियर, जसलाई पनि उहाँले कामको विषयमा बुझ्ने गरेर सिकाउनुहुन्थ्यो । उहाँ हर कोही कर्मचारीलाई समान व्यवहार गर्नुहुन्थ्यो । कुनै पनि काम कसरी गर्ने, कसरी नगर्ने, कसो गर्दा के हुन्छ ? यावत विषयमा कारणसहित बडो चाखलाग्दो गरी बताइदिनुहुन्थ्यो । उहाँ आफूले जानेबुझेको ज्ञान, प्रविधि सिकाउन कहिल्यै पनि, कति पनि कञ्जुस्याईं गर्नु भएन । राज सर यो ‘नलेज ट्रान्स्फर’को विषयमा यति उदार कि उहाँ साँच्चिकै खास मानेमा इन्स्ट्रक्टर हुनुहुन्थ्यो । एउटा इन्स्ट्रक्टरको राम्रो गुण भनेको उसँग भएको ज्ञान कतिसम्म ट्रान्स्फर गर्न सक्छ भन्नेमा मापन हुन्छ । यस अर्थमा म राज सरलाई एउटा अब्बल र क्षमतावान इन्स्ट्रक्टरको रुपमा मान्छु । राज सर आफूलाई थाहा नभएको कुराहरु आफूभन्दा जुनियर व्यक्तिसँग सोध्न हिच्किचाउनु हुन्नथ्यो । यसबाट पनि उहाँको उदारता, महानता प्रष्ट हुन्छ ।
उहाँसँग नेपाल एयरलाइन्समा दुई वर्ष काम गर्ने दौरानको एउटा कुरा याद आउँछ । राज सरले इञ्जिनको भित्री भाग निरीक्षण गरिरहनु भएको रहेछ । मलाई नजिकै देखेपछि उहाँले बोलाएर ए उपेन्द्र, यहाँ आउ त । यो हेर त तिमीले कति, कस्तो देखिरहेको छौ ? यो यस्तो हो, त्यो त्यस्तो हो भनेर उहाँले गरिरहनु भएको कामबारे जानकारी दिनुभयो । उहाँ त्यति उदारतापुर्वक व्यवहार गर्नुहुन्थ्यो । जब कि उहाँले लाइसेन्स लिँदा म जन्मिएको पनि थिइनँ । राज सरमा घमण्डी स्वभाव अलिकति पनि थिएन । उहाँले त ‘ल यो कुरा राम्ररी ख्याल गर है । यसमा ध्यान देउ । ल यो ठीक छ’ भनेर प्रोत्साहित गर्नुहुन्थ्यो । कसैले चाहिँ सोधेपछि मात्रै सिकाउँछन् । तर राज सर त आफैँ डाकेर नयाँ कुराहरु सुनाउनु हुन्थ्यो । अनुभवहरु सेयर गर्नुहुन्थ्यो । अनि सोध्नुहुन्थ्यो, यो बुझेको छ कि छैन ? यसमा यो कुरा ध्यान दिनुपर्छ भनेर । राज सर भनेको आफैँ फिल्डमा खटेर, काममा इन्ज्वोय गर्ने मान्छे हो ।
उहाँ साह्रै असल मान्छे लाग्छ मलाई । उहाँले अत्यन्त विश्वासनीयता आर्जन गर्नुभएको थियो । इथिक र प्रोटोकलको अन्यन्त पालना गर्ने मान्छे उहाँ । अर्को कुरा भनेको नेपालका जति पनि जहाजहरु ल्याइए, ती प्राय सबैको उहाँले लाइसेन्स लिनुभयो । नेपालमा ७५७ जहाज ल्याउँदा पनि उहाँ सुपरिवेक्षण गर्ने टोलीमा हुनुहुन्थ्यो ।
राज सरले प्राविधिक सुधारका लागि सम्बन्धित कम्पनीहरुलाई सुझाव पनि दिनुहुन्थ्यो । क्यानेडियन कम्पनीले ट्वीनअटर जहाजको सर्वप्रथम व्यवसायिक उडान नेपाल सहितका देशहरुमा गरेको हो । छोटो धावन मार्गमै उडान र अवतरण गर्न मिल्ने यो जहाज नेपालजस्तो पहाड र हिमाल बढी भएको देशमा उपयोगी त भयो तर, अपरेसनको क्रममा विभिन्न किसिमका कठिनाइहरु देखा परे । त्यस्ता कठिनाई वा प्राविधिक समस्याहरुको विश्लेषण गरेर उहाँले उत्पादक कम्पनीलाई नै सुझावहरु दिनुभएको थियो । त्यस्ता सुझावहरुकै आधारमा कम्पनीले नयाँ उत्पादनहरुलाई परिमार्जित गर्दै लग्यो र ट्वीनअटरको उत्कृष्ट मोडलहरु आए । यो कुरा राज सरले मलाई सुनाउनु भएको हो ।
प्रकाशित समय : ००:२२ बजे


















