गृहपृष्ठ आईविवी नेपालद्वारा भोटेकोशी बाढीपीडितलाई ५० लाख सहयोग

आईविवी नेपालद्वारा भोटेकोशी बाढीपीडितलाई ५० लाख सहयोग

आईविवी नेपालद्वारा भोटेकोशी बाढीपीडितलाई ५० लाख सहयोग

काठमाडौं । अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। चेक आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले हस्तान्तरण गरिन्।

कम्पनीका अनुसार आईविवीका उत्पादन बिक्रीबाट पछिल्ला तीन दिनमा संकलित रकमलाई आधार बनाएर उक्त सहयोग जुटाइएको हो। विपद्का कारण प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत राहत अभियानमा जोडेको जनाएको छ।

चेक हस्तान्तरण गर्दै सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गर्व महसुस भएको बताइन्। उनले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासका कारण छोटो समयमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको बताइन्।

“यो डोनेसन आईविवीले होइन, तपाईंहरूले गर्नुभएको हो। यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ,” सर्राफले भनिन्।

उनले आईविवीका उत्पादन खरिद गरेर उपभोक्ताले दिएको साथकै कारण राहत कोषमा ठूलो रकम योगदान गर्न सम्भव भएको बताइन्।

“तपाईंहरूको साथ र सहयोगबिना आज हामी ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सक्ने थिएनौँ,” उनले भनिन्।

सर्राफले भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै विपद्को समयमा एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिइन्।

आईविवी नेपालले उपभोक्ता, रिटेलर र डिलरको सहकार्यमा सञ्चालन गरेको यो अभियानमार्फत प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु