‘अपर अरुणमा लगानी जुटाउन बैंकिङ क्षेत्रबाट कुनै समस्या छैन’
वि.सं.२०७८ चैत २७ आइतवार ००:१९
shares

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अपर अरुण जलविद्युत आयोजनामा लगानी जुटाउन बैंकिङ क्षेत्रबाट कुनै समस्या नरहेको बताएका छन् । संखुवासभा-काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज)को केन्द्रीय कार्यालय ज्ञानेश्वरमा भएको भेटघाटको क्रममा उनले सो आयोजनाका लागि लगानीको समस्या नभएको बताए ।
अपर अरुण आयोजनालाई नाफा-घाटाको रुपमा नलिन र विषय नबनाउन पनि सीईओ श्रेष्ठले आग्रह गरे । ‘यो आयोजना बन्नुपर्छ भन्नेमा सबै जिल्लावासीलाई सचेत गराउनु पर्ने आवश्यकता छ,’ उनले भने । अपर अरुण जनताकै लगानीमा बन्नुपर्छ भन्ने अभियानलाई टुंगोसम्म पुर्याउन, नतिजामुखी र परिणाममुखी बनाउनुपर्ने उनको सुझाव थियो । वित्तीय क्षेत्रमा ज्ञान र लामो समयसम्म बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका कार्यकारी अधिकृत श्रेष्ठले जति ढिलो गर्यो आयोजना त्यति महँगो पर्ने भएकाले यो अभियानमा सबैलाई एकीकृत गर्दे तीव्रता दिनु पर्ने आवश्यकता औंल्याए ।
नेपालमा भएका ८-१० वटा बैंकको सहभागिता गराउनै दुई-तीन महिना लाग्ने भन्दै प्रदेश-१ लाई समेटेर जान र समन्वय गर्न धेरै समय खर्चनु पर्ने उनको भनाइ थियो । बैंकहरु राम्रो प्रोजेक्टमा लगानी गर्न इच्छुक भएको भन्दै राष्ट्र बैंकले कानुनी बाधा फुकाई दिए लगानीको समस्या नरहेको उनकाे भनाइ छ । देशकै गौरवको आयोजनाको रुपमा रहेको अरुण र तमोरमा लगानी गर्न जनता इच्छुक रहेको उनले बताए । उनले पुँजी हुनेले मात्र नभई नहुनेले पनि लगानी गर्ने वातवरण बनाउनु प्रमुख कुरा भएको धारणा राखे ।
साे आयोजना संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ मा पर्छ । १ हजार ६१ मेगावाट साे आयोजना गोला छाङराङमा पावर हाउस र ड्यामसाइड चेपुवामा रहने बताइएकाे छ । आयोजना सम्पन्न गर्न झण्डै २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकाे छ ।

























