गृहपृष्ठ ‘अपर अरुणमा लगानी जुटाउन बैंकिङ क्षेत्रबाट कुनै समस्या छैन’
‘अपर अरुणमा लगानी जुटाउन बैंकिङ क्षेत्रबाट कुनै समस्या छैन’
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अपर अरुण जलविद्युत आयोजनामा लगानी जुटाउन बैंकिङ क्षेत्रबाट कुनै समस्या नरहेको बताएका छन् । संखुवासभा-काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज)को केन्द्रीय कार्यालय ज्ञानेश्वरमा भएको भेटघाटको क्रममा उनले सो आयोजनाका लागि लगानीको समस्या नभएको बताए ।
अपर अरुण आयोजनालाई नाफा-घाटाको रुपमा नलिन र विषय नबनाउन पनि सीईओ श्रेष्ठले आग्रह गरे । ‘यो आयोजना बन्नुपर्छ भन्नेमा सबै जिल्लावासीलाई सचेत गराउनु पर्ने आवश्यकता छ,’ उनले भने । अपर अरुण जनताकै लगानीमा बन्नुपर्छ भन्ने अभियानलाई टुंगोसम्म पुर्याउन, नतिजामुखी र परिणाममुखी बनाउनुपर्ने उनको सुझाव थियो । वित्तीय क्षेत्रमा ज्ञान र लामो समयसम्म बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका कार्यकारी अधिकृत श्रेष्ठले जति ढिलो गर्यो आयोजना त्यति महँगो पर्ने भएकाले यो अभियानमा सबैलाई एकीकृत गर्दे तीव्रता दिनु पर्ने आवश्यकता औंल्याए ।
नेपालमा भएका ८-१० वटा बैंकको सहभागिता गराउनै दुई-तीन महिना लाग्ने भन्दै प्रदेश-१ लाई समेटेर जान र समन्वय गर्न धेरै समय खर्चनु पर्ने उनको भनाइ थियो । बैंकहरु राम्रो प्रोजेक्टमा लगानी गर्न इच्छुक भएको भन्दै राष्ट्र बैंकले कानुनी बाधा फुकाई दिए लगानीको समस्या नरहेको उनकाे भनाइ छ । देशकै गौरवको आयोजनाको रुपमा रहेको अरुण र तमोरमा लगानी गर्न जनता इच्छुक रहेको उनले बताए । उनले पुँजी हुनेले मात्र नभई नहुनेले पनि लगानी गर्ने वातवरण बनाउनु प्रमुख कुरा भएको धारणा राखे ।
साे आयोजना संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ मा पर्छ । १ हजार ६१ मेगावाट साे आयोजना गोला छाङराङमा पावर हाउस र ड्यामसाइड चेपुवामा रहने बताइएकाे छ । आयोजना सम्पन्न गर्न झण्डै २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकाे छ ।
प्रकाशित समय : ००:१९ बजे



















