गृहपृष्ठ गोकर्णेश्वर जंगलमा मृत फेला परेकी युवतीकाे पहिचान खुल्यो
गोकर्णेश्वर जंगलमा मृत फेला परेकी युवतीकाे पहिचान खुल्यो
गोकर्णेश्वर नगरपालिका-४ स्थित सहिदपार्क जगडोलस्थित सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी युवतीकाे पहिचान भएकाे छ । मृतक युवती काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई भएकाे प्रहरीले जनाएकाे छ ।
उनको शव हिजो साँझ सो जंगलमा फेला परेको हो । भोजपुरको हतुवागढी गाउँपालिका-२ घर भएकी २७ वर्षीया राई काठमाडौं महानगरपालिका-६, सरस्वतीनगर बस्दै आएकी थिइन् । मृतको बाया हातको नाडीमा भित्री हड्डीसमेत देखिनेगरी नशासहित गहिरो रुपमा काटेको अवस्थामा घाउ रहेको र रगतले लतपतिएको पाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शवलाई पोष्टमार्टमको लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाइएको छ । घटनास्थलमा बिषादीको बट्टा र धारिलो ब्लेड फेला परेको एसपी मैनालीले बताए । घटनाबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : १९:४३ बजे


















