गृहपृष्ठ सिंहदरबारमा ‘एक सांसद, एक वृक्षरोपण’ : आफूले रोपेको बिरुवा आफैं संरक्षण गर्न सुझाव
सिंहदरबारमा ‘एक सांसद, एक वृक्षरोपण’ : आफूले रोपेको बिरुवा आफैं संरक्षण गर्न सुझाव
काठमाडौं । सभामुख डीपी अर्यालले नयाँ संसद भवन परिसरमा शुक्रबार आयोजित ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमअन्तर्गत रोपिएका बिरुवाको संरक्षणमा सांसदहरूलाई सक्रिय हुन आग्रह गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले कपुर, लिच्ची, साकुरा, आँप, बुद्धचित्त, एभोकाडो, रुद्राक्षलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिए ।
उनले प्रत्येक सांसदले आफूले रोपेको बिरुवाको महिनामा कम्तीमा एकपटक आफैँले हेरचाह गर्न, पानी तथा मल हाल्न र बिरुवाको पहिचान गर्न आग्रह गरे ।
‘आज बोटविरुवा रोप्ने सबै माननीय सदस्यहरुलाई महिनामा एक पटक आफैले रोपेको बोटविरुवाको आफैले ख्याल गर्ने, पानी हाल्ने, मल हाल्ने अनि विरुवा चिन्ने… फलफुल रोपेको माननीय सदस्यले फलफुल फल्छ एक दुई वर्षपछि आफू मात्र खाने हैन, अरुलाई पनि बाँडेर खाने अनुरोध गर्दछु,’ उनले भने ।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले वृक्षरोपणजस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने बताए । यस्ता कार्यक्रमले सांसदबीचका पार्टीगत मतभेद घटाउन सहयोग पुग्ने भन्दै उनले सँगै काम गर्दा आपसी सम्बन्धसमेत राम्रो हुने धारणा राखे ।
‘यस्ता कार्यक्रमले राम्रो म्यासेज गएको छ । प्रतिनिधि सभामा सधैँ सांसदको आफ्नो काम गर्छौँ । यसले पार्टीगत मतभेदहरू घटाउँछ । सँगै काम गर्दा मजा पनि आउँछ,’ उनले भने ।
प्रकाशित समय : १८:४७ बजे


















