गृहपृष्ठ नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम ब्रिलियन्ट क्याम्पसमा
नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम ब्रिलियन्ट क्याम्पसमा
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
ब्रिलियन्ट बहुमुखी क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, नेपाल बैंक चाबहिल शाखाका शाखा प्रबन्धक द्वारीका घोरासैनी लगायतका कर्मचारीको उपस्थिति थियो ।
स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, विद्यार्थीलक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामबारे जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख नेपालले विद्यार्थीलाई लक्षित गरी डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै विद्यार्थीहरुले यस कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त गरे ।
८५औँ वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल नेपालभर २१३ शाखा, १६० एटीएम र ५० एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
प्रकाशित समय : १५:४१ बजे



















