गृहपृष्ठ श्रीलंकामा कर्फ्यू उलंघन गरेको आरोपमा ६६४ जना पक्राउ
श्रीलंकामा कर्फ्यू उलंघन गरेको आरोपमा ६६४ जना पक्राउ
श्रीलंकामा सरकारले लागू गरेको कर्फ्यू उलंघन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ । स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको बिचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो । सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरेको छ । र्कफ्यु लागू भएका बेला अनुमति विना हिँड्डुल गर्न नपाइने भएपनि हिँड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिए ।
आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरु विरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलंकामा देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको छ । आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि उनीहरु र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले संकटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि आदेश जारी गरेको छ । राजधानी कोलम्बो लगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरु आन्दोलित भएका हुन । सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलंका पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण आन्दोलित भएका हुन् । अघिल्लो साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो ।
प्रकाशित समय : १८:४६ बजे


















