गृहपृष्ठ कांग्रेसको निर्णय : आवश्यकताअनुसार चुनावी तालमेल, गठबन्धन कार्यान्वयन गर्न संयन्त्र
कांग्रेसको निर्णय : आवश्यकताअनुसार चुनावी तालमेल, गठबन्धन कार्यान्वयन गर्न संयन्त्र
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्य दलसंग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको छ । शुक्रबार सुरु भएर मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई धार थियो । संस्थापन पक्षको लाइनअनुसार गठबन्धन गर्ने सैद्धान्तिक निर्णय भएको हो । केन्द्रीय कार्यसमितिको निर्णयबारे जानकारी दिँदै महतले भने, ‘स्थानीय परिस्थिति र आवश्यकता हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ ।’ उनले गठबन्धनलाई व्यवाहारिक रुपमा कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयन्त्र बन्ने जानकारी दिए ।
आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले दुई वटा समिति पनि गठन गरेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ भने केन्द्रीय प्रचार प्रसार समिति प्रवक्ता महतको नेतृत्वमा गठन गरेको छ ।
प्रकाशित समय : २३:५५ बजे



















