गृहपृष्ठ राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश
राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश
धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपीएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटले पराजित गरेको छ । विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपीएफले सुदूरपश्चिमलाई २५-१३, २५-२० र २५-१२ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ एपिएफका टेकराज अवस्थी भए । बिहीबार नै भएको अर्को क्वाटरफाइनल प्रतिस्पर्धामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३-० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले बागमतीलाई २५-१५, २५-१४ र २५-१८ को सेटले पराजित गरेको हो ।
खेलका ‘म्यान अफ द म्याच’ गण्डकी प्रदेशका हरि पाण्डेय घोषित भए । बिहीबारका दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र एपीएफका बीच तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशका बीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
यही चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्नेले ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।
प्रकाशित समय : १२:३२ बजे



















