गृहपृष्ठ कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन
विराटनगर । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन कडा निर्देशन दिएको छ ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले सडक तथा पूर्वाधारमा पुग्न सक्ने सम्भावित क्षति न्यूनीकरण र तत्काल मर्मतका लागि संयन्त्र तम्तयार राखिएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले जानकारी दिए ।
वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको मन्त्री आचार्यले जानकारी दिए ।
यसैबीच, मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारको नियमित निगरानी बढाउन, उपलब्ध जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र कुनै पनि विपद् आइपरे तत्काल परिचालन भई मन्त्रालयलाई जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिएका छन । उनले विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोशी प्रदेशवासी आम जनसमुदायलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन ।
प्रकाशित समय : १५:२९ बजे


















