गृहपृष्ठ एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न

एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न

एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौँ । स्थायी कमिटी र केन्द्रीय सदस्यमा मनोनयन, अध्यक्षको राजनीतिक प्रतिवेदन र २२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को केन्द्रीय कमिटीको तेस्रो बैठक आज सम्पन्न भएको छ ।

यही असोज ५ गतेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा भएको बैठकले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै ११औँ महाधिवेशनपछि मनोनीत हुन बाँकी केन्द्रीय सदस्यसमेत चयन गरेको महासचिव शङ्कर पोखरेलद्वारा बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार बैठकले ईश्वर पोखरेल (काठमाडौँ), प्रदीप ज्ञवाली (गुल्मी), काशिनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी)लाई स्थायी कमिटीमा मनोनयन गरेको भने विभिन्न जिल्लाबाट २९ जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

पार्टीमा समायोजन भएका विभिन्न समूहबाट १३ जनालाई केन्द्रीय सदस्य बनाइएको महासचिव पोखरेलले बताउनुभयो ।

मनोनीत हुने केन्द्रीय कमिटी सदस्यमा काशिनाथ अधिकारी (चितवन), देवराज घिमिरे(झापा), हरि रिजाल (प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौँ), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरुङ (मनाङ), डा प्रेम दङ्गाल (काठमाडौँ), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौँ), पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु), डा शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) रहेको छ ।

यसैगरी, पार्टीमा समायोजन भएकामध्येबाट केन्द्रीय सदस्य मनोनयन हुनेमा मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अंसारी (सुनसरी), डिबी कार्की (स्याङजा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाडौँ), धर्मराज निरौला (सुनसरी), रवि चामलिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रित राम (सिराह) र ध्रुव विष्ट (भक्तपुर) रहेको महासचिव पोखरेलले जानकारी दिए ।

स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्यूरो गठन गर्ने, सल्लाहकार परिषद् तथा विभाग गठन गर्ने र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने विषयमा सचिवालय बैठकबाट निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको छ ।

समसामयिक प्रस्ताव पारित

बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको यथार्थ विवरण सार्वजनिक गर्न र विस्थापितको तत्काल पुनःस्थापना तथा क्षतिग्रस्त सडक, पुल र बस्तीको पुनर्निर्माण अघि बढाउन माग गरेको छ । बाढी प्रभावित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापनाको केन्द्रमा राख्नुपर्नेमा जोड दिएको छ ।

बैठकले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील तथा पर्वतीय मुलुकमा बढ्दै गएको जोखिमप्रति चिन्ता व्यक्त गर्दै जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ । साथै बाढीपछिको उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, विभिन्न सङ्घसंस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रसेवक कर्मचारी, प्रदेश सरकार र स्थानीय तहप्रति धन्यवाद व्यक्त गरेको छ ।

राष्ट्रियता, लोकतन्त्र र जनजीविकासम्बन्धी प्रस्ताव पारित गर्दै एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । विसं २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न तथा यसअघि गठित छानबिन आयोगका प्रतिवेदन पूर्ण पाठसहित सार्वजनिक गर्न बैठकले माग गरेको छ ।

बैठकले सुकुमवासी विस्थापन, ट्रेड युनियन तथा स्ववियु अधिकार, सञ्चारमाध्यमको स्वतन्त्रता र मानव अधिकारका विषयमा छलफल गरेको छ । संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुन सक्ने उल्लेख गर्दै महासचिव पोखरेलले संविधानका आधारभूत संरचनाको संरक्षणका लागि एमाले दृढतापूर्वक उभिने बताए ।

त्यस्तै, महँगी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति, कर पुनरावलोकन तथा व्यावसायिक वातावरण निर्माण गर्न माग गर्दै राष्ट्रिय हित, सीमा तथा भूराजनीतिक विषयमा सरकारलाई संवेदनशील हुन बैठकले आग्रह गरेको छ । साथै प्रवासी नेपालीलाई लोकतन्त्र र राष्ट्र निर्माणका साझेदारका रूपमा उल्लेख गर्दै उनीहरूको मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी विषय सम्बोधन गर्न नियमित संवाद गर्ने एमालेले जनाएको छ ।

बैठकको समापनमा अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टीका रूपमा प्रस्तुत भएको बताए । बैठकले विगतका कमीकमजोरीको समीक्षा गर्दै पार्टी पुनर्जागरण र सुदृढीकरणका योजना निर्माण गरेको तथा आगामी दिनमा लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

बैठकले आगामी तीन दिन नेपालका विभिन्न भूभागमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन, सम्बन्धित निकायका सूचना पालना गर्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह पनि गरेको छ ।

प्रकाशित समय : १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु