गृहपृष्ठ ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी)का महानिर्देशक रजत मिश्राको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा ऊर्जा क्षेत्रको विकास र विपद् पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो बनाउन सहकार्य गर्नेबारे छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको  छ ।

ऊर्जामन्त्री श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई क्षेत्रीय ऊर्जा हबका रूपमा विकास गर्नेगरी सहकार्य गर्न प्रस्ताव गरे । नेपालको अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि बढाइरहेको भन्दै उनले सहकार्यमा जोड दिए । मन्त्री श्रेष्ठले हालसम्म नेपालको ऊर्जा क्षेत्रमा सहयोग गरेकामा धन्यवाद पनि दिए ।

मन्त्री श्रेष्ठले कर्णालीको सुर्खेत, सल्यान, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला र लुम्बिनीको दाङ, बाँके, बर्दिया र रोल्पामा एआइआइबीको लगानीमा निर्माण भइरहेको प्रसारण लाइन निर्माण, सबस्टेसनको विस्तार एवं वितरण प्रणालीको सुदृढीकरणका विषयमा उल्लेख गरे । उनले आगामी दिनमा अन्य सहरोन्मुख र सहरी क्षेत्रमा आन्तरिक खपत बढाउन वितरण प्रणाली तथा प्रसारण लाइनको निर्माण कार्यमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यमा एआइआइबीजस्ता साझेदार निकायले विशेष सहकार्य जरुरी रहेको बताए । उनले भोटेकोशी बाढीपछि बाढी पूर्वानुमान प्रणालीलाई तीन दिनबाट पाँच दिनमा विस्तार गरिएको जानकारी गराए ।

नेपालको विद्युत् क्षेत्रमा रहेका नीतिगत कमजोरी पहिचान गरी निजी क्षेत्र तथा साझेदार निकायको लगानीका लागि सहज वातावरण बनाउन तयारी भइरहेको र एआइआइबीजस्ता पूर्वाधार साझेदारबाट महत्त्वपूर्ण नीतिगत सुझावको अपेक्षा गरिएको उनले बताए ।

एआइआइबीका प्रतिनिधिले नेपालको प्रसारण लाइन र वितरण प्रणालीलाई एकीकृत रूपमा स्तरोन्नति गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। उनहरूले विपद्पछिको पुनःरुत्थान र पुनर्निर्माणमा सघाउने प्रतिबद्धता पनि जनाए । छलफलमा एआइआइबीले विद्युत् प्रणालीमा ‘डिजिटल’ पूर्वाधार विकास गर्ने इच्छा व्यक्त गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु