सेनाको सर्पदंश उपचार केन्द्रबाट दुई वर्षमा एक हजार दुई सयभन्दा बढी लाभान्वित
वि.सं.२०८३ असोज ८ बिहीवार १८:१२
shares

महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुर र कैलालीमा सञ्चालन गरेका सर्पदंश उपचार केन्द्रबाट पछिल्लो दुई वर्ष पाँच महिनामा एक हजार २४६ जना लाभान्वित भएका छन् ।
कञ्चनपुरको मझगाउँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणको अर्जुनी ब्यारेक परिसर र कैलालीको बडैपुरस्थित कालीरक्षा गण परिसरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।
सुदूरपश्चिम पृतनाका अनुसार कैलालीस्थित कालीरक्षा गणको उपचार केन्द्रमा गत वैशाखयता १०६ महिला र ७२ पुरुष गरी १७८ जनाको उपचार गरिएको छ । सेनाको तथ्याङ्कअनुसार विसं २०८१ मा २६२, विसं २०८२ मा २४६ र विसं २०८३ को हालसम्म १७८ जनाको उपचार गरिएको छ ।
सर्पदंशबाट हुने जोखिम न्यूनीकरणका लागि सेनाले कैलाली, कञ्चनपुरलगायत जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई सर्पदंशसम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।
यसैगरी, कञ्चनपुरको अर्जुनीस्थित सेनाको सर्पदंश उपचार केन्द्रबाट पनि स्थानीयवासीले नियमित सेवा लिँदै आएका छन् । नेपाली सेना र स्थानीय समुदायको संयुक्त व्यवस्थापनमा विसं २०७१ मा स्थापना भएको उक्त केन्द्रबाट हालसम्म करिब दुई हजार बिरामीको उपचार भइसकेको रणसिंह दल गण मझगाउँ ब्यारेकले जनाएको छ ।
केन्द्रबाट स्थापनाकालदेखि नै चौबिसै घण्टा सेवा प्रवाह हुँदै आएको छ । उपचारका लागि आवश्यक औषधि तथा उपकरण बेदकोट र शुक्लाफाँटा नगरपालिका, स्वास्थ्य कार्यालय कञ्चनपुर तथा प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।
अर्जुनी उपचार केन्द्रमा विसं २०८१ मा २०८ जना र विसं २०८२ मा ६० जनाले सेवा लिएका थिए । विसं २०८३ को वैशाखयता भने ६६ महिला र ४८ पुरुष गरी ११४ जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्र पुगेका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा सर्पदंश उपचारको व्यवस्था गरिएको छ । प्रादेशिक तथा जिल्ला अस्पतालका अतिरिक्त भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका स्वास्थ्य संस्थामार्फत समेत उपचारको प्रबन्ध मिलाइएको उनले बताए ।
“कञ्चनपुरको दोधारा चाँदनीदेखि बेलौरी, बेल्डाँडी हुँदै बैतडीको मेलौरी र गोकुलेश्वरलगायत क्षेत्रमा सर्पदंश उपचारका लागि स्वास्थ्य संस्थामा सहजता गरिएको छ”, उनले भने ।
जोशीका अनुसार पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा गर्मीयाममा सर्पदंशका बिरामीको चाप बढी हुने गरेको छ ।

























