गृहपृष्ठ महोत्तरीको चुरे पहाडमा भीषण पहिरो, खयरमारासहितका बस्ती जाेखिममा
महोत्तरीको चुरे पहाडमा भीषण पहिरो, खयरमारासहितका बस्ती जाेखिममा
महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भिषण पहिरो खसेको हो । पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको बस्ती जोखिममा परेको छ। स्थानीय युवा इशारा लामाका अनुसार भीषण पहिरो गएसँगै स्थानीयहरू त्रसित छन् ।
पहिरोले खोला नै पुरेपछि छोडके, पिपलदमा, गुरुङ खोला, चनौटे, गर्दिखोला, भांग्रे झ्याउरे तथा खयरमाराको मुख्य बजारमा नै जोखिम हुन सक्ने स्थानीयहरूको भनाइ छ । बेमौसमी पहिरोले त्रसित बनाउने गरी ठूलो पहिरो गएपछि वर्षायाममा हुन सक्ने खतराबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयहरुले चिन्ता लिइरहेको इशारा लामाले जानकारी दिए ।
अहिले खोलाबाट खयरमारा र बर्दिबास जाने बाटो बन्द भएको छ । सडक सञ्जालको सुविधा नहुँदा खयरमारास्थित भित्री वस्तीका स्थानीयहरू खोलाबाट नै आवतजावत गर्दै आएका छन् । सुरुमा सानो पहिरो गएको भए पनि राति २ बजेबाट ठूलो पहिरो जान थालेको स्थानीयहरू बताउँछन् । पहिरो गएको नजिक र वरपर मात्र करिब दुई सय घरधुरी बसोबास गर्दै आएका छन् ।
तराईमा पछिल्लो दुई दिनयता अत्याधिक बढेको तापक्रमका कारण पहिरो गएको हुन सक्ने वातावरणविद्हरूको अनुमान छ । वातावरणविद नागदेव यादवका अनुसार चुरे पहाडमा रहेको खुकुलो चट्टानमा चिसो र तातोको सन्तुलन बन्न नसक्दा पहिरो जाने गर्दछ ।
प्रकाशित समय : १८:०२ बजे


















