global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बक्यौता रकम बुझाउन वायुसेवा कम्पनीलाई अन्तिम अल्टिमेटम

बक्यौता रकम बुझाउन वायुसेवा कम्पनीलाई अन्तिम अल्टिमेटम

बक्यौता रकम बुझाउन वायुसेवा कम्पनीलाई अन्तिम अल्टिमेटम

नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द भइसकेका वायुसेवा कम्पनीलाई बक्यौता रकम तत्काल चुक्ता गर्न ताकेता गरेको छ । कम्पनी बन्द भइसके पनि बक्यौता रहेकाले तत्काल बुझाउन प्राधिकरणले सात कम्पनीका सञ्चालकहरूलाई ताकेता गरेको हो ।

पटक-पटक बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि चुक्ता गर्न नआएको भन्दै प्राधिकरणले अन्तिम पटक सात दिनको अल्टिमेटम तोकेर आज सातवटा वायुसेवा कम्पनीलाई बक्यौता रकम चुक्ता गर्न ताकेता गरेको हो । वायुसेवा कम्पनी तथा सञ्चालकहरुले बुझाउनु पर्ने बक्यौता रकम बुभाउन पटक-पटक पत्राचार गर्दा पनि बक्यौता चुक्ता गर्न नआएपछि प्राविधकरणले २०७६ असोज, २०७७ माघ र २०७८ भदौमा सार्वजनिक सूचना प्रकाशित गर्दै वायुसेवा कम्पनी तथा सञ्चालकहरुलाई बक्यौता चुक्ता गर्न आग्रह गरेको थियो ।

‘प्राधिकरणले असुल गर्नुपर्ने रकम नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम सरकारी बाँकीसरह प्राधिकरणले असुल उपर गर्न पाउने अधिकार प्राधिकरणमा सुरक्षित छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० (३) अनुसार प्राधिकरणलाई बुझाउनु पर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरुलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने अधिकार प्राधिकरणमा रहेको छ,’ प्राधिकरणले भनेको छ ।

‘प्राधिकरणबाट कारबाही अगाडि बढाउने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको बाँकी बक्यौता रकम उल्लेखित वायुसेवा कम्पनीहरुले प्राधिकरणको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडाैंमा जम्मा गरी सक्कल भौचर यस प्राधिकरणको प्रधान कार्यालय, अर्थ विभागमा बुझाई बक्यौता रकम फरफारक गर्न यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

प्राधिकरणले कुनै वायुसेवा कम्पनी वा सञ्चालकले आफूले बक्यौता रकम तिर्नु नपर्ने भए प्रमाणसहित प्राधिकरणमा निवेदन दिन पनि आग्रह गरेको छ । सात दिनभित्र बुझाउनु पर्ने बक्यौता रकम नबुझाए वायुसेवा कम्पनी र सञ्चालकहरुलाई विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को नियम ३० (३) बमोजिम कारवाही गर्ने प्राधिकरणले जनाएको छ । ‘नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम प्राधिकरणले वायुसेवा कम्पनी र सञ्चालकहरु तथा उनका हकदारहरु समेतको बैंक खाता रोक्का गरी नेपालबाहिर जान नपाउने गरी राहदानी रोक्काको कारबाही गरी चल अचल जायजेथावाट असुल उपर गरिनेछ,’ प्राधिकरणले सूचनामार्फत जनाएकाे छ ।

प्राधिकरणका अनुसार बक्यौता रकम चुक्ता नगर्ने वायुसेवा कम्पनीहरुमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरेवज र एयर काष्ठमण्डप छन् । यी सात कम्पनीबाट ९ करोड १७ लाख रुपैयाँ असुल हुन नसकिरहेकाे हाे ।

प्राधिकरणकाे सूचनाअनुसार नेकोनका सञ्चालकहरु दीपमणी राजभण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीले ४ करोड ७२ लाख, २५ हजार ३५३ रुपैयाँ बुझाउन बाँकी छ । शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारले ५५ लाख ५१ हजार ५३ रुपैयाँ र गोरखा एयरका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, डा. उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ बुझाउन बाँकी छ ।

त्यसैगरी माउण्टेन एयरका सञ्चालकहरु प्रज्ञान शमशेर जबरा, सिद्धिका राणा र शिवेन्द्र बहादुर बस्नेतले ६ लाख १० हजार ८३४ रुपैयाँ र कस्मिक एयरका सञ्चालक क्याप्टेन रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बुझाउन बाँकी छ । स्काइलाइन एयरवेजका सञ्चालकहरु आंग छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा, यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग, उत्तम कृष्ण खरेलले ७ लाख ८० हजार ४०० रुपैयाँ बुझाउन बाँकी छ ।

त्यसैगरी एयर काष्ठमण्डपका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, उज्लव श्रेष्ठ र हमाद अली जावोर (कतार)ले गरी ७ लाख ३८ हजार ४४७ रुपैयाँ बुझाउन बाँकी रहेकाे प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणकाे सूचना :

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु