काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

567
shares

नेपालगन्ज । बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ ।

गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई करसम्बन्धी कामका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

स्थानीय बासिन्दालाई करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले स्थानीयस्तरमै करदाता सेवा उपलब्ध भएपछि व्यवसाय दर्ता, स्थायी लेखा नम्बर (प्यान) प्राप्ति तथा करसम्बन्धी प्रशासनिक काम गर्न सहज हुने बताए ।

उनले भने, “नरैनापुरका स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणले करसम्बन्धी सामान्य कामका लागि पनि नेपालगन्ज पुग्नुपर्ने अवस्था थियो । गाउँपालिकामै करदाता सेवा सुरु भएपछि स्थानीयलाई समय र खर्च बचत हुनुका साथै सेवा लिन सहज हुनेछ ।”

सेवा केन्द्रले आन्तरिक राजस्व कार्यालय नेपालगन्जअन्तर्गत पहिलो व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा नरैनापुर गाउँपालिका–२, बैउहवाकी जन्नतुल पठानिनलाई पहिलो प्यान प्रमाणपत्र हस्तान्तरण गरे ।

पठानिनले सञ्चालन गर्ने मदिना परफ्युम एन्ड जनरल स्टोरका लागि स्थायी लेखा नम्बर जारी गरिएको हो । उक्त व्यवसायले अत्तर तथा अन्य सुगन्धित सामग्री, सौन्दर्य प्रसाधन, साबुन र किरानाका सामानको थोक तथा खुद्रा बिक्री गर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत वलीले गाउँपालिकाभित्रै करदाता सेवा उपलब्ध हुँदा स्थानीय व्यवसायीलाई औपचारिक रूपमा व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन सहज हुने बताए ।

“स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध हुँदा आर्थिक तथा प्रशासनिक काम सहज, छिटो र छरितो रूपमा गर्न सकिन्छ । यसले व्यवसायीलाई कानुनी प्रक्रियाअनुसार व्यवसाय सञ्चालन गर्न र करको दायरामा आउन थप प्रोत्साहन मिल्ने विश्वास लिएका छौँ”, उनले भने ।

करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले नरैनापुरका करदातालाई आफ्नै गाउँपालिकाबाट करसम्बन्धी सेवा उपलब्ध गराउने गरी केन्द्र सञ्चालनमा ल्याइएको बताए । गाउँपालिकामै करदाता सेवा केन्द्र सञ्चालनमा आएपछि करसम्बन्धी कामका लागि नेपालगन्ज पुग्नुपर्ने समय र खर्च घट्ने अपेक्षा गरिएको छ ।