गृहपृष्ठ सामसङले सार्वजनिक गर्यो नयाँ बजेट स्मार्टफोन, कति पर्छ मूल्य ?
सामसङले सार्वजनिक गर्यो नयाँ बजेट स्मार्टफोन, कति पर्छ मूल्य ?
सामसङले नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ५जी समर्थन गर्ने ए-५३ ५जी स्मार्टफोन सार्वजनिक गरेको सिएनएन बिजनेसले जनाएको छ ।
एप्पलले आफ्नो बजेट आइफोन एसई सार्वजनिक गरेको घोषणासँगै सामसङले पनि गत बिहीबार भएको ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टमा आफ्नो नयाँ बजेट फोन सार्वजनिक गरेको हो ।
नयाँ ग्यालेक्सी ए-५३ ५जीको क्यामेरा उत्कृष्ट हुनुका साथै यसको प्रोसेसर पनि पावरफुल भएको कम्पनीले जनाएको छ । कम्पनीले १२८ जिबी मोडलको नयाँ ए-५३ को मूल्य ४ सय ४९ अमेरिकी डलर तोकेको छ । यो भनेको नेपाली ५४ हजार छ सय रुपैयाँ बढी हो ।
गत साता सार्वजनिक एप्पलको ५जी नेटवर्क समर्थन गर्ने एसईको ६४ जिबी मोडलको मूल्य भने जम्मा ४ सय २९ अमेरिकी डलर तोकेको छ । यो भनेको नेपाली साढे ५२ हजार रुपैयाँ हाराहारी पर्छ ।
सामसङको ए-५३ ५जी स्मार्टफोनमा ६.५ इन्चको डिस्प्ले छ । यसमा १२० हर्जको रिफ्रेस रेट दिइएको छ । यसमा सामसङको नयाँ इक्जाइनोस ५ एनएम प्रोसेसर पाउन सकिन्छ। जसले गर्दा मोबाइलमा भएको नाइट मोडलाई थप अद्यावरण गरेको छ ।
चार वटा क्यामेरा भएको ग्यालेक्सी ए-५३ मा ६४ मेगापिक्सलको मुख्य क्यामेरा छ भने ३२ मेगापिक्सलको फ्रन्ट (सेल्फी) क्यामेरा छ । साथै यसमा १२ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सलको डेप्थ सेन्सर र ५ मेगापिक्सलको म्याक्रो सेन्सर क्यामेरा छ ।
त्यस्तै, कम्पनीले यसको ब्याट्री पनि राम्रो भएको बताउँदै एक पटकको पूरा चार्जमा दुई दिनसम्म चलाउन सकिने दाबी गरेको छ । यसमा ५ हजार एमएएचको ब्याट्री क्षमता छ ।
नयाँ ग्यालेक्सी ए-५३ ५जी स्मार्टफोन कालो, सेतो, निलो र पिच्च रंग विक्पमा उपलब्ध हुने बताइएको छ । यो फोन अप्रिल १ तारिखदेखि विश्व बजारमा उपलब्ध हुने बताइएको छ ।
प्रकाशित समय : २०:१८ बजे


















