गृहपृष्ठ ऊर्जामन्त्रीद्वारा न्यू बुटवल-२२० केभी सबस्टेसनको उद्घाटन
ऊर्जामन्त्रीद्वारा न्यू बुटवल-२२० केभी सबस्टेसनको उद्घाटन

नवलपरासीको सुनवल नगरपालिका-१३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरिन् ।
मुलुकभित्र उत्पादित विदयुतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विदयुत व्यापार प्रवर्द्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो ।
मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विदयुत छिमेकी मुलुकमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन् । रसिया र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले यसको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विदयुतको खपत बढाउन आग्रह गरिन् ।
ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विदयुत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए । नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिँदै सबस्टेसन निर्माणबाट विदयुत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताइन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानी क्षेत्रमा विदयुत आपूर्तिका लागि अर्को ३३-११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए । उनले नेपालको विदयुतको महसुल सस्तो रहेको र मागेजति विदयुत उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविदयुत आयोजनाको विदयुत म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।
नेपाल सरकारको लगानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि ८ नोभेम्बर २०१७ मा एक अर्ब आठ करोड रुपैयाँमा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो ।
प्रकाशित समय : १६:४९ बजे