गृहपृष्ठ कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता
कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थान (डिडिसी) बीच दूध खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ।
दुग्ध विकास संस्थान लैनचौरमा सोमबार भएको सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्थाका साझेदार दुग्ध उत्पादक सहकारी संस्था तथा सदस्य किसानले दैनिक १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउनेछन्।
सम्झौताअनुसार आगामी दिनमा दूधको आपूर्ति क्रमशः बढाउँदै लैजाने तथा साझेदार संस्था र सदस्य किसानबाट उत्पादित दूध डिडिसीलाई उपलब्ध गराइने उल्लेख छ। डिडिसीले यसअघि यी दुई संस्थाका सञ्जालमार्फत खरिद गरेको दूधको बाँकी भुक्तानी एक महिनाभित्र गरिसक्नुपर्ने सहमति पनि भएको छ।
सम्झौतामा दूधको मात्रा र गुणस्तर सुरुआती सङ्कलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने तथा दूध ढुवानीका लागि आवश्यक ‘कन्भर्ज’को व्यवस्था गर्नुपर्ने उल्लेख छ।
सम्झौतापछि डिडिसीका महाप्रबन्धक डा. सरनकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनमा सम्झौता महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो। उहाँले सहकारीको मूलमर्म स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्दै किसानको सञ्जालसँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए।
डिडिसीले दूध सङ्कलन र बजारीकरणमा मात्र सीमित नभई पशुपालन तथा दुग्ध उत्पादनका विभिन्न क्षेत्रमा समेत काम गर्ने उनले बताए। विगतमा देखिएका भुक्तानीसम्बन्धी समस्या दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै महाप्रबन्धक पाण्डेले किसानलाई नियमित भुक्तानीको सुनिश्चितता गरेर अघि बढ्ने बताए।
साझा प्रयास र पहलबाट मात्रै समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले किसानको जीवनस्तरमा सुधार ल्याउँदै आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सके समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिने बताए।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सम्झौताले किसानको आयआर्जन वृद्धि, उत्पादन विस्तार र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। सरकारले अघि सारेका नीति तथा कार्यक्रममा विगतदेखि नै सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले सम्झौताले सहकार्यको अर्को बाटो खोलेको बताए ।
डिडिसीलाई सुधार गर्दै माथि उठाउने कार्यमा किसान तहबाटै सहयोग आवश्यक रहेको अध्यक्ष पाठकले बताउनुभयो। उहाँले दूध उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
डिडिसीप्रतिको विगतको धारणा परिवर्तन गर्दै सुधारको सुरुआत भइसकेको उल्लेख गर्दै उहाँले दुग्ध उत्पादक किसानलाई नयाँ पहलमा ढुक्क भएर सहभागी हुन आग्रह गरे । कुनै कमी–कमजोरी देखिए तत्काल सुधारका लागि सुझाव दिनसमेत उहाँले आग्रह गरे।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौता नेपाली दुग्ध उत्पादक किसानका लागि ऐतिहासिक भएको बताए। सम्झौताले किसानको आर्थिक अवस्था सुधार गर्दै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने उनको भनाइ थियो।
केन्द्रीय सङ्घको सञ्जालमा आबद्ध संस्थाले हाल दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको जानकारी दिँदै अध्यक्ष उप्रेतीले उत्पादन बढाउन पनि सम्झौताले प्रोत्साहन गर्ने बताउनुभयो। तत्कालका लागि दैनिक १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउने सम्झौता भएको उल्लेख गर्दै उहाँले दूध बिक्रीबापतको रकम समयमै प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए।
सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी र दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरनकुमार पाण्डेले हस्ताक्षर गरेको थियो।
सम्झौता कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपाकर रूपाखेती तथा डिडिसीका उपमहाप्रबन्धकलगायतको उपस्थिति थियो
प्रकाशित समय : २०:३६ बजे


















