गृहपृष्ठ म्याग्दीकाे रघुगंगामा सामूहिक आलुखेती विस्तार
म्याग्दीकाे रघुगंगामा सामूहिक आलुखेती विस्तार
म्याग्दीको रघुगंगा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगंगाकाे वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमंगलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ ।
हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिए । गाउँपालिकाको ३० लाख र कृषक समूहबाट ३० लाख बराबरको श्रमदानसहित ६० लाख लागत अनुमानको बजेटबाट रघुगंगामा आलुखेती लगाउने अभियान सञ्चालन गरिएको छ ।
सामूहिक आलुखेतीलाई प्रभावकारी बनाउन एक ब्लकमा १२ लाखको कार्यक्रमअन्तर्गत गाउँपालिकाको छ लाख र कृषक समूहको छ लाखसहितको योजनाअनुसार आलु ब्लक कार्यान्वयन गरिएको कृषि शाखाले जनाएको छ ।
निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन आलु ब्लक खेती विस्तार गरिएको कृषि शाखा संयोजक शर्माले बताए ।उक्त कार्यक्रमअन्तर्गत रघुगंगा-२ रिसिन चौतारीस्थित बरखर्क कृषि समूहमा आबद्ध २४ कृषकले सामूहिकरुपमा २०० रोपनी जग्गामा आलुखेती गरेका छन् ।
समूहमा आबद्ध सदस्यले सामूहिकरुपमा खेती लगाएका हुन् । गाउँमा निर्वाहमुखी खेतीमा सीमित रहेको जमिनलाई भाडामा लिएर गाउँपालिकाबाट मिनिटेलर र प्राविधिक सहयोगमा कृषक समूहको सक्रियतामा २०० रोपनी जग्गामा आलु विस्तार गरिएको बरखर्क कृषक समूहकी कोषाध्यक्ष देवी कटुवालले बताए ।
'कृषक समूहबाट ६५ रोपनीमा र समूहमा आबद्ध कृषकले व्यक्तिगतरुपमा १३५ रोपनी जग्गामा आलु लगाएका छौँ, यसले यस क्षेत्रलाई आलु पकेट क्षेत्रको रुपमा विकास गर्न सघाउने विश्वास लिएका छौँ', उनले भने ।
प्रकाशित समय : १४:०६ बजे


















