गृहपृष्ठ नाइमा एक्स्पोमा बढ्यो भीड, शनिबार र आइतबारका लागि विशेष तयारी
नाइमा एक्स्पोमा बढ्यो भीड, शनिबार र आइतबारका लागि विशेष तयारी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ता पुगेपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी गरेको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिदाका दिनमा अझ बढी भीड हुने अनुमान गर्दै पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार एक्स्पो सुरु भएको चार दिनमै भृकुटीमण्डप क्षेत्रका खुला स्थान तथा नेपाल प्रहरी क्लबका दुवै तला पार्किङका लागि प्रयोग गर्दा पनि ठाउँ अभाव भएको थियो।
एक्स्पोका व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो खुल्नुअघि नै गेटमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ। एक्स्पो बिहान ११ बजे खुल्ने भए पनि बिहान १० बजेदेखि नै अवलोकनकर्ता पुग्ने गरेका छन्।
चार दिनमा १ लाख ८ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरिसकेका छन्। उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता पुग्ने अपेक्षा गरेको छ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडल सार्वजनिक गरिसकेका छन्। विद्युतीय कार, ई–स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधन तथा दुईपाङ्ग्रेमा विशेष आकर्षण देखिएको आयोजकले जनाएको छ।
अवलोकनकर्ताले विशेषगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुका विषयमा चासो राखिरहेका छन्। ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीले मूल्य छुट, एक वर्षको बिमा, सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराएका छन्।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि सवारी खरिदका लागि विशेष योजना सार्वजनिक गरेका छन्। आयोजकका अनुसार एक्स्पो सवारी खरिद गर्ने ग्राहकका लागि विभिन्न ब्रान्ड तथा वित्तीय सुविधाबीच तुलना गर्ने महत्वपूर्ण अवसर बनेको छ।
एक्स्पोसँगै ‘नाइमा मोबिलिटी संवाद’ पनि सञ्चालन भइरहेको छ। संवादमा सवारीसाधन, अटोमोबाइल व्यवसाय, सवारी सुरक्षा, बीमा तथा दिगो यातायात प्रणालीलगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञसँग छलफल भइरहेको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित समय : ११:५४ बजे


















