गृहपृष्ठ ग्यास वितरणको अनुगमन गर्न ‘द्रुत प्रतिकार्य टोली’ गठन

ग्यास वितरणको अनुगमन गर्न ‘द्रुत प्रतिकार्य टोली’ गठन

ग्यास वितरणको अनुगमन गर्न ‘द्रुत प्रतिकार्य टोली’ गठन

दमौली । जिल्लामा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीमा रेग्मीसहित नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुँका अधिकृत प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

टोलीले ग्यास वितरणसम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए । अनुगमनका क्रममा गम्भीर लापरबाही वा कानुन उल्लङ्घन गरेको भेटिएमा प्रचलित कानुनअनुसार ग्यास भण्डारणस्थल सिल गर्ने, बढी मौज्दात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवानासमेत गरिने उनले जानकारी दिए ।

ग्यासको वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्थासमेत लागू गरेको छ । प्रशासनले एक परिवारलाई एकपटकमा एक सिलिण्डर मात्रै ग्यास वितरण गर्नुपर्ने व्यवस्था लागू गर्दै डिलरदेखि खुद्रा विक्रेतासम्मको कारोबारमा कडाइ गरेको हो ।

ग्यासको वितरणमा हुने अनियमितता, कृत्रिम अभाव तथा बढी मौज्दात नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको प्रजिअ तिवारीले बताए । “नयाँ व्यवस्थाअनुसार ग्यास डिलरले अब आफैँ सिलिण्डर बिक्री गर्न पाउने छैनन् । डिलरले उपडिलर तथा थोक विक्रेतामार्फत ग्यास वितरण गर्नुपर्नेछ । कुन उपडिलर वा थोक विक्रेतालाई कति परिमाणमा ग्यास पठाइएको हो भन्ने विवरण कम्पनीको नाम, ठेगाना र परिमाणसहित डिलरको परिसरमा सार्वजनिक गर्नुपर्नेछ । उक्त विवरण जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्ने छ”, उनले भने।

त्यस्तै, डिलरले उद्योगबाट प्राप्त ग्यासको दैनिक मौज्दात विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ । उपडिलर तथा थोक विक्रेताले आफूले प्राप्त गरेको ग्यास यसअघि पठाउँदै आएका खुद्रा पसलमा पठाउनुपर्ने र कुन खुद्रा विक्रेतालाई कति सिलिण्डर पठाइएको हो भन्ने विवरण ठेगानासहित आफ्नो परिसरमा सबैले देख्ने गरी सार्वजनिक गर्नुपर्ने तिवारीले बताए ।

उनका अनुसार प्रशासनले उपभोक्ताका लागि समेत स्पष्ट व्यवस्था गरेको छ । खुद्रा विक्रेताले ग्यास वितरण गर्दा एक परिवारलाई एक सिलिण्डर मात्रै उपलब्ध गराउनुपर्नेछ । ग्यास लिन आउने ग्राहकको पहिचान गरी निजले यसअघि ग्यास कहिले लगेको भन्ने विवरणसमेत हेर्नुपर्ने व्यवस्था गरिएको छ । खुद्रा विक्रेताले ग्राहकको नाम, ठेगाना र सम्पर्क नम्बर दर्ता पुस्तिकामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सहरमा कोठा भाडामा लिएर बस्ने विद्यार्थी तथा अन्य परिवारले पनि आफ्नो परिवारका लागि एक सिलिण्डर मात्रै लिनुपर्नेछ भने एउटा सिलिण्डर लिएपछि अर्को सिलिण्डरका लागि पालो पर्खनुपर्ने र एकभन्दा बढी सिलिण्डर मौज्दात राख्न नपाइने प्रशासनले जनाएको छ ।

उपभोक्ताको मागका आधारमा खुद्रा तथा थोक विक्रेताले माग सङ्कलन गर्नुपर्नेछ भने सङ्कलित मागका आधारमा डिलरमार्फत आवश्यक परिमाण निर्धारण गरी ग्यास आपूर्ति गर्ने उद्योग र जिल्ला प्रशासन कार्यालयमा विवरण पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

 

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु