काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

357
shares

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण गरिएको संरचना अझै सञ्चालनमा आउन सकेको छैन ।

मुख्य खानेपानीको मुहान र पाइपलाइनमा समस्या हुँदा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको संरचना पछिल्लो विपद्का बेला पनि उपयोगविहीन बनेको छ । खडेरी, मुहान सुक्ने, पाइप फुट्ने र पहिरोका कारण खानेपानी आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न म्याग्दी नदीको पानी तानेर वितरण गर्ने योजनासहित उक्त संरचना निर्माण गरिएको थियो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–२ स्थित म्याग्दी नदी किनारको हाडेभिरबाट बराहपाखोमा रहेको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी सङ्कलनस्थलसम्म पानी पु¥याउने संरचना बनाएको हो ।

विसं २०८० मा निर्माण सम्पन्न भएको उक्त संरचना प्राविधिक समस्या देखिएपछि हालसम्म सञ्चालनमा आउन सकेको छैन । संस्थालाई हस्तान्तरणसमेत नभएको संरचना पछिल्लो विपद्का बेला पनि प्रयोग गर्न नसकिएको संस्थाका अध्यक्ष रमेश गिरीले बताए ।

उनका अनुसार असोज ८ देखि ११ गतेसम्मको विपद्ले मुख्य खानेपानी पाइपलाइन क्षतिग्रस्त बनाएपछि बेनीमा आपूर्ति प्रभावित भएको थियो । तर, विकल्पका रूपमा निर्माण गरिएको संरचना सञ्चालनयोग्य नहुँदा त्यसबाट पानी आपूर्ति गर्न सकिएन ।

विपद्का बेला समेत प्रयोगमा आउन नसकेको संरचनाको औचित्य र सरकारी लगानीको प्रतिफलमाथि उपभोक्ताले प्रश्न उठाएका छन् । उनीहरूले प्राविधिक समस्या समाधान गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

काठमाडौँको एएम प्याराडाइजले विसं २०७८ असोजमा वैकल्पिक खानेपानी आपूर्ति तथा शुद्धीकरणसम्बन्धी संरचना निर्माणका लागि दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिका–२ को हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनार निर्माण गरी विद्युत्बाट सञ्चालन हुने तीनवटा सबमर्सिबल पम्प जडान गरिएको छ । इनारबाट करिब नौ सय मिटर लामो चार इञ्चको जीआई पाइप बिछ्याएर एक सय ३० मिटर उचाइमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म पानी पु¥याउने व्यवस्था गरिएको छ ।

तीनवटै पम्प सञ्चालन गर्दा प्रतिसेकेन्ड १५ लिटर पानी आपूर्ति गर्न सकिने क्षमता छ । म्याग्दी नदीको सडक पुलदेखि रिजर्भ ट्याङ्कीसम्मको पाइपलाइन भने प्रयोगमा आएको छ ।

यसैबीच, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो मुख्य पाइपलाइन अस्थायी रूपमा मर्मत गरी कात्तिक २७ गतेदेखि वितरण सुरु गरेको छ । हाल ती मुहानबाट प्रतिसेकेन्ड आठ लिटर पानी आपूर्ति भइरहेको छ ।

विपद्अघि उक्त मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटर पानी बेनीमा आपूर्ति हुने गरेको थियो । विपद्का कारण पाइपलाइन क्षतिग्रस्त भएपछि आपूर्ति बन्द भएको थियो ।

संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा दैनिक आवश्यकताका लागि प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी चाहिन्छ । संस्थाले बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण गर्दै आएको छ ।

मागअनुसार पानी आपूर्ति हुन नसकेपछि टोल विभाजन गरेर आलोपालो प्रणालीबाट वितरण गर्नुपरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ ।