गृहपृष्ठ आइसीसी क्रिकेट विश्वकप लिग टु: पपुवा न्युगिनीमाथि नेपालको कठिन जित
आइसीसी क्रिकेट विश्वकप लिग टु: पपुवा न्युगिनीमाथि नेपालको कठिन जित

'आइसीसी क्रिकेट विश्वकप लिग टुु'अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेकाे छ । यूएईको सारजाहमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो ।
पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्याे । खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाए । पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २/२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले । सोमपालको ओभरमा दिपेन्द्रको हातबाट आउट हुनुअघि उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे । ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए । चाद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए ।
अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
प्रकाशित समय : ००:४२ बजे