गृहपृष्ठ बैतडीमा शीतभण्डार निर्माण सुरु
बैतडीमा शीतभण्डार निर्माण सुरु
बैतडीको सुर्नया गाउँपालिका-२ सिउडेमा शीतभण्डार निर्माण सुरु भएको छ । संघीय सरकारको विशेष अनुदानअन्तर्गत गाउँपालिकाले प्रपातालभुमेश्वर नारी एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थासँग सम्झौता गरी शीतभण्डार निर्माण सुरु गरेको हो । संघीय सरकारको ४८ लाख र स्थानीयवासीको छ लाख बराबरको जनश्रमदान गरी कूल ५४ लाखको लागतमा शीतभण्डार निर्माण हुने बताइएको छ ।
प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेशसभा सदस्य लीलाधर भट्ट र गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले संयुक्तरुपमा शीतभण्डारको शिलान्यास गरेका छन् । स्थानीय किसानले उत्पादन गरेका कृषि उपज फलफूल तथा तरकारी समयमै बिक्री नहुँदा सड्ने तथा बिग्रने भएकाले किसानको मागलाई लक्षित गर्दै शीतभण्डार स्थापना गरिएको उपाध्यक्ष विष्टले बताए ।
शीतभण्डार निर्माण भएपछि स्थानीय किसानलाई कृषिउपज संकलन तथा भण्डारणका लागि सहज हुने विश्वास गरिएको छ । यसैबीच शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउने दाता स्थानीयवासी गोमती चन्दको परिवारलाई सम्मानसमेत गरिएको छ ।
प्रकाशित समय : २१:३९ बजे



















